नेपालमा हुने नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपी नग) को पाँच दिने सम्मेलनलाई मुख्य प्रायोजक भारती एयरटेल

काठमाडौं । यही असार  ३  देखि ८ सम्म काठमाडौंमा आयोजना हुने नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपी नग) को पाँच दिने सम्मेलनलाई भारतको मोबाइल सेवाप्रदायक कम्पनी भारती एयरटेलले मुख्य प्रायोजन गर्ने भएको छ । काठमाडौंको होटल रोयल सिङ्घी र होटल एलफ्टमा हुने कार्यक्रम एनपी नग- एट (npNOG-8) को मुख्य प्रायोजक टुङ्गिएको आयोजकले जनाएको छ ।

कार्यक्रम अन्तर्गत पाँच दिने कार्यशाला र एक दिने सम्मेलन आयोजना हुने बताइएको छ । होटल रोयल सिङ्घीमा हुने कार्यशालामा नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा संलग्न व्यावसायिक विज्ञहरूबाट दुई ओटा विषयगत क्षेत्रमा तालिम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) ले उक्त कार्यशाला संयुक्त रुपमा सञ्चालन गर्नेछन्, जसमा नेटवर्क सेक्युरिटी, अप्टिकल फाइबर नेटवर्क एन्ड इन्फ्रास्ट्रक्चर र बीजीपी एन्ड आईपीभीसिक्स डिप्लोयमेन्ट जस्ता विषय रहेका छन् ।

कार्यक्रमको अन्तिम दिन होटल एलफ्टमा सम्मेलन आयोजना हुनेछ । सम्मेलनमा आईटी सम्बन्धी विज्ञहरूले आ-आफ्ना कार्यपत्र प्रस्तुत गर्नेछन् ।

उक्त तालिम कार्यक्रममा सूचना सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत करिब १५० जनाभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले रजिस्ट्रेसन बापत २० हजार रुपैयाँ बुझाउनु पर्ने हुन्छ ।

एनपी नगका अध्यक्ष समित जनले कार्यक्रमका लागि आठ जनालाई फेलोशिप प्रदान गरिएको जानकारी दिए । जसमा नेपाल प्रहरीको अप्टिकल फाइबरका निशा तिमल्सिना, नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनआरईएन) का श्रीयुक्त दुवाडी, मर्कन्टाइलका सुष्मा पाठक र ओम नेटवर्कका सफलता श्रेष्ठ रहेका छन् ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका सुमन अधिकारी, फर्स्टलिङ्कका अनिश बस्नेत, क्लासिक टेकका प्रखर लामिछाने र डिशहोमका मनिष वर्माले समेत फेलोशिप प्राप्त गरेका छन् ।

Comments are closed.