भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ कीर्तिमानी नयाँ उचाइ छोएर ओर्लियो

काठमाडौँ । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ कीर्तिमानी नयाँ उचाइ छोएर ओर्लिएको छ । मंगलबारको कारोबारमा प्रतिगोटा बिट्क्वाइनको भाउ ६९ हजार २१० डलरसम्म पुगेको थियो । बिहानी कारोबारमा केही बेर नयाँ उचाइमा पुगेर बिट्क्वाइनको भाउ ओरालो लाग्न थालेको थियो ।
मध्याह्नसम्म आइपुग्दा भाउ ८ प्रतिशतले घटेर ६१ हजार ९७३ डलर ३७ सेन्टमा समेटियो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार बुधवार बिहान ११ः४३ मा क्वाइन डेस्कमा बिट्क्वाइनको भाउ अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा १ दशमलव १७ प्रतिशतले घटेर ६६ हजार ११२ डलर ७७ सेन्टमा आएको थियो । यो वर्षको अहिले सम्मको अवधिमा बिट्क्वाइनको भाउ ४५ प्रतिशतले बढिसकेको छ ।
लगानीकर्ताहरूले नाफा कमाउन लगानी बेच्न थाले भने भाउ तल झर्न थाल्छ भनेर लगानीकर्ताहरू सतर्क छन् । बजारमा १० देखि २० प्रतिशतसम्म करेक्सन आउन सक्ने क्रिप्टो विज्ञहरूले बताइरहेका छन् । पछिल्लो समय बिट्क्वाइनको भाउ यति छिटो छिटो बढिरहेको छ कि लगानीकर्ताहरू करेक्शनप्रति सतर्क देखिएका छन् । सन् २०२१ को नोभेम्बर १० मा बिट्क्वाइनको भाउले ६८ हजार ९८२ डलर २० सेन्टको कीर्तिमानी उचाइ छोएको थियो ।

Comments are closed.