प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा संविधानमा लेखिएकै कुरा अभ्यास गर्न लागिएको हो : मनिष झा

काठमाडौं । प्रतिनिधि सभा सदस्य मनिष झाले संसदीय प्रणाली र सो प्रणालीको संविधान बनाउने दलकै संविधान प्रति आशङ्का रहेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै झाले अहिले पनि उहाँहरूकै बहुमत रहेकाले व्यवस्था र संविधान प्रति शङ्का नगर्न आग्रह गर्नुभयो । ‘तपाईँहरूकै सङ्ख्या छ, तपाईँहरूकै बहुमत हुने सम्भावना छ, भने चार दिन कुर्नुस् न, एक अर्कालाई विश्वास गर्नुस् न, सहकर्म र सहयात्राको गाथा गाउनुहुन्छ भने विश्वास पनि गर्नुस्, किन चार दिनको लागि डराउनुहुन्छ’, झाले भन्नुभयो ।

संविधानमा लेखिएकै कुरा अभ्यास गर्न लागिएको उहाँले बताउनुभयो । ‘त्यसैले नतर्सिनको लागि र पल्टुरामहरुलाई पनि विश्वास गरिदिनको लागि अनुरोध गर्दछु’, उहाँले भन्नुभयो ।

उहाँले मध्यरातमा कुनै व्यापारीको घरमा सरकार बदल्ने सहमति भएको भन्दै उहाँले आलोचना गर्नुभयो । कुनै नेताको घरमा गएर देशको भविष्यको खाका कोर्नेले नैतिकताको परिभाषा सिकाउन नहुने उहाँले दाबी गर्नुभयो ।

प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा संविधानको अभ्यास भएको उहाँले स्पष्ट पार्नुभयो । ‘हामी त्यो संविधानको अभ्यास गर्दै छौँ, त्यो संविधानको अभ्यास गर्दै छौँ, तपाईँहरूले पनि विश्वास गर्दै छौँ’, उहाँले भन्नुभयो ।

उहाँले देशको शासन सत्ता ज्ञानेन्द्र र खिलराज रेग्मीलाई बुझाए जस्तो फेरी पनि कसैलाई नबुझाउन झाले आग्रह गर्नुभयो । त्यस्तो अवस्था आयो भने आफूहरू पालो पर्खेर बसेर उहाँले बताउनुभयो ।

Comments are closed.