शान्ति प्रक्रिया टुङ्ग्याउन विश्व समुदायको समर्थन आवश्यक छ: अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रिया टुङ्ग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताएका छन् ।

मङ्गलवार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले देशको शान्ति प्रक्रिया टुङ्ग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताए ।

उनले विश्व समुदायको सहयोग आवश्यक पर्ने पनि बताए । यद्यपि सो विषय आफूहरूकै पहल, योजना र तत्परतामा हल हुने स्पष्ट पारे । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलेले संसदमा सम्बोधन गर्दै विश्व शान्तिमा नेपालको भूमिकाको उच्च प्रशंसा गरेको भन्दै खुसी व्यक्त गरे ।

उनले भने ‘सङ्क्रमणकालीन न्यायसँग जोडिएको विषयमा नेपालकै पहलकदमीमा यो विषयलाई टुङ्ग्याउनुपर्छ । पर्यावरणको समस्यालाई पनि उहाँले प्रत्यक्ष रूपमा आफूले देखेको, अनुभूत गरेको कुरा बताउनुभएको छ । त्यसले विश्वको ध्यान आकर्षित गर्छ भन्ने लाग्दछ । यस्तो कुरामा नेपाल जस्तो देशको कुनै भूमिका छैन । विकसित देशहरूले, सम्पन्न देशहरूले यसको जिम्मेवारी बोक्नुपर्दछ भन्ने बताउनुभयो । विश्व शान्तिमा नेपालको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । लुम्बिनी, सगरमाथा र अन्नपूर्ण को भ्रमण गर्न ठाउँ चयन गर्नुले उहाँको नेपाल प्रतिको निकटता, आत्मीयता व्यक्त हुन्छ । गौरवान्वित तुल्याएको छ । खुसी छौँ । शान्ति प्रक्रिया टुङ्ग्याउन विश्व समुदायको समर्थनको हामी अपेक्षा गर्दछौँ । विश्व समुदायले आवश्यक सहयोग गर्नुपर्ने हुन्छ । तर मुख्यतः हाम्रो पहलमा, हाम्रो योजनामा, हाम्रो तत्परतामा हल हुने कुरा हो ।’

अध्यक्ष नेपालले महासचिव गुटरेसले नेपालप्रति निकटता र आत्मीयता देखाएको पनि बताए ।

Comments are closed.