याे गठबन्धन ५ वर्ष जान्छ, कसैले हल्लाउन सक्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धन पाँचै वर्ष चल्ने दाबी गर्नुभएकाे छ ।
तनहुँकाे आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन पाँचै वर्ष चल्ने र कसैले हल्लाएर हल्लिन नसक्ने दाबी गर्नुभयाे ।
संविधान बन्न दिन नचाहानेहरु र गणतन्त्रका विराेधीहरुले अहिले माैकाकाे फाइदा उठाउन खाेजेका आराेप उहाँले लगाउनुभयाे । ‘हामीलाई थाहा छ नि काे काे मान्छेहरु गणतन्त्रका विरुद्ध थिए, उनीहरुले डे वानदेखि नै षड्यन्त्र गरेकाे त हामीलाई थाहा छ, अहिले त्याे कसरत छ, तर त्यसबाट केही हुँदैन, याे गठबन्धन पाँचै वर्ष जान्छ, कसैले हल्लाएर हल्लिनेवाला छैन, गठबन्धनभित्रकाे युनिटी धेरै दह्राे छ ।’
आफु प्रधानमन्त्री बन्दा एक महिना भएपनि राम्रो काम गर्छु भन्ने अठोट लिएको र ११ महिना सरकार अघि बढ्दा सुशासनको पक्षमा काम धेरै राम्राे काम गरिरहेको उहाँले दाबी गर्नुभयाे । इतिहासमै पहिलाे पटक अमेरिका, भारत र चीनसँग महत्वपूर्ण समझदारी भएकाे दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस समझदारीप्रति गर्व गर्नुपर्ने बताउनुभयाे ।
मिटरब्याजी पीडितका पीडा सम्बाेधनदेखि नागरिकताबिहीनलाई नागरिकता दिलाउने सम्मका काम आफूहरुले गरेकाे उहाँले बताउनुभयाे ।देशकाे अर्थतन्त्रमा दबाब र समस्या भएपनि आतंकित हुने अवस्था भने नभएकाे प्रधानमन्त्री प्रचण्डले दाबी गर्नुभयाे ।
आफूले संयुक्त राष्ट्रसंघकाे महासभामा गरेकाे सम्बाेधन र राष्ट्रसंघका महासचिवकाे नेपाल भ्रमणले जलवायु परिवर्तनबारे नेपालकाे धारणालाई विश्वमञ्चमा राख्न सहज भएकाे उहाँले बताउनुभयाे । कसैसँग भिख नमाग्ने र आफूले नगरेकाे कामकाे भारी नेपालले नबाेक्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
केही शक्तिहरुले लोकतान्त्रिक प्रणालीका विरुद्ध आवाज उठाउने दुस्साहस गरेका भन्दै उहाँले त्याे दुस्साहसलाई द‍ृढतासाथ परास्त गर्ने बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डले परिवर्तन र जनताको अधिकार मन नपराउनेहरुले लोकतान्त्रिक प्रणालीका विरुद्ध आवाज उठाउन खोजेको बताउनुभयाे ।
अहिले देशलाई बर्वाद पार्ने राजाहरुको भक्तिगान गाउन थालेको र नारायणहिटी, भण्डारखाल, कोतपर्व मच्चाउनेहरुले संस्कारको कुरा गर्न थालेको उहाँले बताउनुभयाे । कसैले भन्दैमा मुलुकको ऐतिहासिक परिवर्तन उल्टिन नसक्ने पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
जाती भाषा धर्म संस्कृति एक भएको राष्ट्रिय गान गाउन थालेको र यसमा आम नागरिकको संस्कृति बोलेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।
शुक्रबार नै आफूले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेर देशको सुरक्षा अवस्था सामान्य रहको उहाँले दाबी गर्नुभयाे । प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्रक्रिया अझै चलिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन छिटै कार्यान्वयनमा आउने दाबी गर्नुभयो । उक्त ऐन कार्यान्वयनमा आउने बितिकै प्रदेश सरकार शक्तिशाली हुने र नागरिकले गणतन्त्रको अनुभूत गर्न सक्ने दाबी पनि उहाँले गर्नुभयाे ।
संघीयतालाई सफल हुन नदिने अनेक प्रयास भइरहेका भन्दै प्रधानमन्त्री प्रचण्डले संघीयता जनताको हितमा छ भन्ने प्रमाणित गरिने बताउनुभयाे । संविधानलाई संस्थागत गर्ने प्रक्रिया चलिरहेको भन्दै उहाँले विधानले परिकल्पना गरेका सबै अधिकार तल्लो सरकारसम्म पुर्‍याउने दाबी गर्नुभयाे । सिंहदरबार जनताको घरदैलोमा आएको अनुभूति दिलाउने आश्वासन दिँदै प्रधाननमन्त्री प्रचण्डले स्वास्थ्य, शिक्षाका बारेमा सरकार प्रतिबद्ध रहेको दाबी गर्नुभयाे ।

Comments are closed.