काठमाडौं । काठमाडौं महानगरपालिका विरुद्ध सडक किनारमा व्यापार गर्ने व्यवसायी आन्दोलनमा जाने भएका छन् ।
संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले महानगर विरुद्ध आन्दोलनको घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विषयमा व्यवसायीले जानकारी दिएका छन् ।
तीन दिनसम्म महानगरपालिकाको कार्यालयमा धर्ना दिँदा पनि व्यापारीको माग सम्बोधन नभएको भन्दै आन्दोलनमा जाने निर्णय भएको नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले जानकारी दिनुभयो । काठमाडौं महानगरपालिका र अभियन्ता ई. तथा सडक व्यवसायीका प्रतिनिधि बिच व्यापारीको जफत गरेको सामान सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने लगायतका सहमति भएको भए पनि त्यो कार्यान्वयनमा नआएको भन्दै व्यापारीहरू आक्रोशित भएका छन् ।
सहमति अनुसार जफत गरिएका सामानहरू फिर्ता गर्नुपर्ने, स्वरोजगार श्रमिकहरूको लागि उचित वैकल्पिक कार्यस्थलको सुनिश्चित गर्नुपर्ने, समय निर्धारण गर्नुपर्ने, स्वरोजगार सडक व्यवसायीहरूलाई पञ्जिकरणको व्यवस्था गर्नुपर्ने, महानगर प्रहरीको धरपकड अविलम्ब बन्द गरिनुपर्ने र स्वरोजगार सडक व्यवसायीहरूलाई करको दायरामा समावेश गरिनुपर्ने उनीहरूको माग रहेको छ ।
यस विषयमा माघ १५ गते काठमाडौं महानगरपालिकालाई ज्ञापन पत्र बुझाउने, १६ गते व्यापक जनप्रदर्शनसहित महानगरपालिका कार्यालयमा धर्ना तथा घेराउ गर्ने र सम्बन्धित निकाय र ठूला राजनीतिक दललाई ज्ञापन पत्र बुझाउने कार्यक्रम उनीहरूले सार्वजनिक गरेका छन् ।
Comments are closed.