टर्कीले इजराइलबाट राजदूत फिर्ता बोलायो

टर्कीले गाजामा भएको रक्तपातको विरोधमा इजराइलबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ। उसले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग सम्पर्कसमेत तोडेको बताएको छ।  अङ्काराले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको टर्की भ्रमण कठिन हुने वाचाको पूर्वसन्ध्यामा त्यस्तो निर्णय गरेको हो

प्यालेस्टिनी सहयोगी टर्कीले गत महिना इजराइल–हमास युद्ध सुरु हुँदासम्म इजराइलसँगको बिग्रिएको सम्बन्ध सुधार गर्दै आएको थियो। तर लडाइँ बढ्दै गएपछि प्यालेस्टिनी सर्वसाधारणको मृत्युको सङ्ख्या बढ्दै गएसँगै इजराइल र उसका पश्चिमी समर्थकहरू विशेषगरी अमेरिका दुवै विरुद्ध टर्कीको स्वर कडा भएको छ।

‘गाजामा सर्वसाधारणविरुद्ध इजराइलले गरेको लगातारको हमला र उसले युद्धविराम गर्न अस्वीकार गरेका कारण भएको मानवीय त्रासदीलाई ध्यानमा राख्दै राजदूत साकिर ओजकान टोरुलनरलाई परामर्शका लागि फिर्ता बोलाइएको छ’, टर्कीको विदेश मन्त्रालयले भनेको छ।

टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले पत्रकारसँगको छुट्टै कुराकानीमा आफूले गाजापट्टीमा सर्वसाधारणको मृत्युका लागि नेतान्याहुलाई व्यक्तिगतरूपमा जिम्मेवार ठहर गरेको बताए। ‘नेतान्याहु अब हामीसँग कुरा गर्न सक्ने व्यक्ति रहनुभएन, हामीले उहाँलाई खारेज गरेका छौँ’, उनले भने।

इजराइलले सुरक्षा सतर्कताका रूपमा यसअघि नै टर्की र अन्य क्षेत्रीय मुलुकहरूबाट सबै राजदूतहरूलाई फिर्ता बोलाएको थियो। इजराइली विदेश मन्त्रालयले गत साताको अन्त्यमा इजराइल–हमास युद्धका बारेमा टर्कीको बढ्दो तिखो वक्तव्यका कारण अङ्कारासँगको सम्बन्धलाई ‘पुनर्मूल्याङ्कन’ गरिरहेको बताएको थियो।

एर्दोगानले शनिबार दुवै पक्षबीच कूटनीतिक सम्पर्क सम्पूर्णरूपमा तोड्ने जोखिम टर्कीले उठाउन नसक्ने बताए। ‘कूटनीतिक सम्बन्ध सम्पूर्णरूपमा तोड्न सम्भव छैन, विशेषगरेर अन्तर्राष्ट्रिय कूटनीतिमा’, उनले भने।

Comments are closed.