त्रिशूलीमा दुई बस बेपत्ता घटनाः १४ शव भेटिए

असार २८ गते शुक्रवार बिहानदेखि त्रिशूली नदीमा हराइरहेका दुईवटा बस र यात्रुको खोजी जारी छ । मंगलवार पनि बिहानैदेखि खोज्न शुरू गरिएको छ ।बिहान ७–८ बजेदेखि खोजी कार्य शुरू गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले लोकान्तरलाई जानकारी दिए ।उनका अनुसार हराएका ६२ जना यात्रुमध्ये १४ जनाको शव फेला परेको छ । तीमध्ये ७ जनाको सनाखत भएको छ । खोजी कार्यका लागि सोमवार बिहानदेखि उच्च प्रविधिको सोनार डिभाइस प्रयोग गरिएको छ ।सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकबाट आइतबार कुरिनटार लगिएको सो डिभाइसमार्फत खोजीकार्य भइरहेको हो ।
नेपालमा भएकामध्ये उच्चस्तरको मानिने सोनार डिभाइस पानीमुनि साउन्ड वेब पठाइ त्यहाँ रहेका बस्तुहरूलाई स्क्यान गर्दै आकृतिको रुपमा देखाउने प्रविधि रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार धमिलो पानीमा पनि काम गर्नसक्ने यो प्रविधिबाट पानीमा फालिएको साउन्ड वेब तलसम्म रहेका बस्तुसम्म पुग्छ र स्क्यान गरी आकृतिको रुपमा फिर्ता हुने गरेको छ । यसमा मोटरबोट जडान गरी लामो दूरीको क्षेत्रफलमा पानीमुनि रहेका सम्पूर्ण वस्तुको आकृति कम्प्युटरमा हेर्न सकिन्छ ।
वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परेका थिए । पहिरोले बगाएर दुवै बस त्रिशूली नदीमा खसेका थिए । बसमा सवार ६५ यात्रुमध्ये तीन जनाले हामफालेर ज्यान जोगाएका थिए ।

Comments are closed.