काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले राजनीतिलाई ठिक ठाउँमा राख्न सकियो भने देश पनि ठिक ठाउँमा आउने बताउनुभएको छ ।
नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको एसईई उत्तीर्ण विद्यार्थीको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले राजनीति ठाउँमा नआउँदा देश बिग्रने बताउनुभयो । ‘राजनीतिलाई ठिक ठाउँमा राख्न सकियो भने देशलाई जोगाउन सकिन्छ भन्ने उद्देश्यले नेकपा एमालेले यो जोखिम उठाएको छ, नेपाली कांग्रेसले पनि यो जोखिम उठाएको छ’, उहाँले एमाले– कांग्रेसको समीकरणको विषयमा स्पष्ट पार्दै भन्नुभयो ।
उहाँले हिजोका प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाइसक्नु भएको बताउँदै उहाँले हिजो नै कांग्रेस र एमालेले केपी ओलीलाई प्रधानमन्त्रीको लागि सिफारिस गरिसकेको स्मरण गराउनुभयो । भोली केपी ओली प्रधानमन्त्री भएपछि नेकपा एमाले संसदमा रहेका दलसँग सहकार्य गरेर राष्ट्रिय सहमतिको सरकार बनाउने तर्फ अघि बढ्ने भट्टराईले बताउनुभयो ।
संविधानमा भएका कयौँ कुरालाई पुनरावलोकन गर्न आवश्यक रहेको बताउँदै उहाँले त्यसलाई समयानुकूल परिमार्जन गर्दै लैजानु पर्नेमा जोड दिनुभयो । यसका मोडलहरू केही बदल्नु पर्ने हुनसक्ने भट्टराईले बताउनुभयो ।
समावेशी प्रतिनिधित्व पनि प्रतिस्पर्धाबाट नै आउन सक्ने परिपाटीमा जान सक्ने उहाँको धारणा छ । यसलाई त्यस्तो निर्वाचन क्षेत्र नै तोकेर पनि जान सकिने उहाँले बताउनुभयो । ‘त्यसले समानुपातिकलाई पनि प्रतिस्पर्धी बनाउँछ’, उहाँले भन्नुभयो ।
अन्य विषयमा पनि संविधानका धेरै कुरा हेरेर परिमार्जन गर्नुपर्ने उहाँको राय छ । ‘संघीय संसद्को दुई तिहाइ बहुमतबाट त्यो गर्न सकिन्छ’, भट्टराईले भन्नुभयो ।
संविधान संशोधन प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुई तिहाइ बहुमतबाट हुने उहाँले बताउनुभयो । माओवादी संविधान संशोधनको पक्षमा नउभिए पनि अन्य सबै दल एक ठाउँमा उभिएर संविधान संशोधन गरेर अघि बढ्ने भट्टराईले दाबी गर्नुभयो । तथापि आफूहरूले माओवादीलाई पनि सँगै लैजान चाहेको बताउँदै उहाँले माओवादीको अब अन्त जाने बाटो नभएको प्रष्ट पार्नुभयो ।
एमाले र कांग्रेस माओवादी वा अन्य कुनै पनि पाटीलाई निषेध गरेर अघि बढ्ने पक्षमा नरहेका उहाँले बताउनुभयो । सबै दललाई समेटेर लैजाने पक्षमा एमाले र कांग्रेस रहेका भट्टराईले प्रष्ट पार्नुभयो । नेपाली कांग्रेससँग सहकार्य भए पनि एमालेको प्रमुख प्रतिस्पर्धा कांग्रेससँग नै भएको उहाँले बताउनुभयो । कांग्रेससँगको सम्बन्ध द्वन्द्वात्मक संघर्षकै सम्बन्ध रहेको उहाँको धारणा छ ।
यो देशमा केही हुँदैन भन्दै मानिसहरू देशबाट भाग्ने र पलायन हुने थकित अवस्थामा देश रहेको भट्टराईले बताउनुभयो । देश हामीले बनाउने हो, यिनै पार्टीले बनाउने हो, आगामी १०/१५ वर्ष भित्र हामीले देश बनाउन सक्छौँ भन्ने हिम्मतका साथ लाग्नु पर्नेमा उहाँको जोड छ ।
युवा जनशक्ति भएको बेलामा नै देशले प्रगति गर्ने भट्टराईले बताउनुभयो । विश्वका सबै देशले काम गर्ने युवा जनशक्ति अधिक भएकै बेला प्रगति गरेका भट्टराईले सुनाउनुभयो । नेपालले देशको समृद्धिको लागि काम गर्ने यो सुनौलो मौका भएको उहाँले दाबी गर्नुभयो ।
उहाँले विद्यार्थीलाई समयको माग अनुसार आफ्नो रुचिको विषय अध्ययन गर्न आग्रह गर्नुभयो । ‘जता गए पनि नबिग्रने हो, बिग्रने काम तर्फ जानु भएन, सप्रिन काम जता जाँदा राम्रो हुन्छ त्यतै गए हुन्छ’, भट्टराईले भन्नुभयो ।
एउटा व्यक्ति बिग्रिँदा देशलाई धेरै घाटा नहुने भए पनि विद्यार्थी बिग्रिँदा देशले ठुलो घाट बेहोर्ने भट्टराईले बताउनुभयो । त्यसैले शिक्षा प्रमुख विषय भएको उहाँको धारणा छ ।
नेपालमा शिक्षालाई जति जोड दिनु पर्ने हो त्यति हुन नसकेको भन्दै यसमा सबैले आत्मालोचना गरेर गम्भीर समीक्षा गरी अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य माधव ढुङ्गेल, गीता कार्की, प्रदेश कमिटीका नेताहरू, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरिया लगायतका नेताहरू, सम्पर्क मञ्चका नेताहरू, अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल लगायतका जनसंगठनका नेताहरू लगायतको कार्यक्रममा सहभागिता थियो ।
Comments are closed.