काठमाडौंं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजका साना साना समस्या समाधान गर्न पनि एमाले नै चाहिने भएका बताउनुभएको छ ।
नेकपा एमाले मधेश प्रदेश अधिवेशनको बुधबार जनकपुरमा उद्घाटन गर्दै अध्यक्ष ओलीले महिनावारी भएका महिलालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउन समेत एमालेकै सरकार बन्नु परेको बताउनुभयो । ‘यति कुरा सोच्न पनि नेकपा एमाले चाहियो’ उहाँले भन्नुभयो ।
बालबालिका खाते हुन सक्दैन र अभिभावक विहीन बालबालिकालाई सरकारले संरक्षण दिन्छ भनेर बालबालिकालाई संरक्षण गर्ने काम एमालेले गरेको उहाँले बताउनुभयो । नेपाल भिखमंगाको देश होइन भनेर सडक मानवलाई व्यवस्थापनको काम एमालेले गरे गरेको उहाँले बताउनुभयो । ‘यस्ता सामाजिक सुधारका काम कति भए कति’, ओलीले भन्नुभयो ।
एमाले सरकार बनेपछि जनकपुरमा ढलको व्यवस्था गरेको उहाँले सुनाउनुभयो । एमाले सरकारमा हुँदा सामाजिक विकास, नागरिक सुरक्षा, सडक, पूर्वाधार निर्माण लगायतका अनेक काम भएका उहाँले स्मरण गराउनुभयो । एमाले सरकार बन्नुभन्दा अघिको जनकपुर ढल्केबहरबाट आउन आफूलाई अढाई घण्टा लागेको बताउँदै ओलीले एमालेको पालामा सडक मर्मत गरेपछि १५ मिनेटमा जनकपुर आउन सकिने भएको उहाँले प्रष्ट पार्नुभयो । अरू कुनै सरकारले गर्न सकेन, त्यो काम नेकपा एमालेले गर्यो’, उहाँले भन्नुभयो ।
एमालेले सुरु गरेको ज्येष्ठ नागरिक भत्ता एमालेकै पालामा बढाएर ४ हजार पुर्याएको उहाँले बताउनुभयो । देशका कुनै पनि भागमा उभिएर जता हेरे पनि एमाले सरकारले गरेको काम देखिने उहाँले दाबी गर्नुभयो । ‘जता हेर्यो एमाले’, भन्नुभयो ।
आफूलाई पुस्त्यौली मसिहा ठान्नेहरूले समृद्धि र विकासको लागि केही नगर्ने ओलीले दाबी गर्नुभयो । ‘पुस्त्यौली मसिहा हुनेहरू, उनीहरूको पारा देखियो, उनीहरूले केही गर्न सक्दैनन्, उनीहरूले अस्वस्थ तरिका अवलम्बन गरेर चुनाव सामना गर्ने कुरा गर्छन्’, ओलीले भन्नुभयो ।
देशको विकास र समृद्धिको लागि काम गरिहरेको एमालेसँग डराएकाले एमालेको सरकार ढाल्ने काम गरेका उहाँले बताउनुभयो । एमालेले आर्थिक वृद्धिदर तीन वर्षमा बढार सात प्रतिशत पुर्याएको उहाँले स्मरण गराउनुभयो । ९ लाख मानिसलाई गरिबीको रेखामुनिबाट एमालेले माथि उठाएको उहाँले बताउनुभयो । एमाले सरकारको पालामा विदेश जाने युवाको सङ्ख्या १८ प्रतिशतले घटाएको ओलीले सुनाउनुभयो ।
एमालेले काम गर्न नसकेको कारण नभई विरोधी एमालेको काम देखेर आत्तिएका उहाँले प्रष्ट पार्नुभयो । एमालेका विरोधी एमालेले मौका पाउने बित्तिकै काम गर्न सक्छ र आफ्नो सटर बन्द हुन्छ भनेर विरोधी आत्तिएका उहाँले बताउनुभयो ।
अहिले एमालेसँग कांग्रेस र माओवादी आत्तिएका बताउँदै आलीले उनीहरू नसच्चिए उनीहरूको भविष्य अन्धकार हुने बताउनुभयो । ‘कांग्रेस हामीसँग आत्तिएको किन ? एमालेले काम गर्न नसकेर हो र, आफ्नो भविष्य अन्धकार देख्ने थालेर, माओवादी एमालेसँग आत्तिएको किन ? आफ्नो भविष्य अन्धकार देखेर’, उहाँले भन्नुभयो ।
Comments are closed.