आफूले लगानी गरेको मात्रै विद्युत् खरिद गर्ने भारतको अडानप्रति एमालेको असन्तुष्टि

काठमाडौँ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले भारतले नेपालबाट आफूले लगानी गरेको मात्रै विद्युत् खरिद गर्ने अडानप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सचिव भट्टराईले असन्तुष्टि जनाएका हुन् । उनले भारत सरकारले नेपालको विद्युत् खरिदमा भारत सरकारले भँगेराको जस्तो छाती भन्दा पनि ठूलो छाती बनाउन आवश्यक रहेको भन्दै भारत सरकारलाई विद्युत् व्यापारको सम्बन्धमा ध्यानाकर्षण गराए । उनले नेपालको भारतसँग बहुआयामिक सम्बन्ध भएकाले विद्युत् व्यापार सम्बन्धमा संकुचन अडान राख्न नहुने धारणा राखे ।

सचिव भट्टराईले भारत नेपालको विद्युत् खरिदका सम्बन्धमा आफ्नो लगानीमा बनेको आयोजनाबाट मात्रै विद्युत् खरिद गर्ने संकुचित अडानमा लचिलो बन्न आग्रह गरे । उनले भारतलाई विद्युत् आपूर्ति गर्नुपर्ने र नेपाल भारतलाई विद्युत् निर्यात गर्न तयार रहेको अवस्थामा भारतले चीन वा अन्य कुन देशको लगानीमा बनेको आयोजना भन्ने विषयमा चासो राख्न जरुरी नभएको धारणा व्यक्त गरे ।

उनले चीन—भारत दुवै देश ट्रिलियन डलरमा व्यापार पर्ने तर नेपालबाट विद्युत् खरिदमा नेपालको जलविद्युत आयोजनामा चीन वा अन्य देशको लगानीका विषयमा खोजी गर्न आवश्यक नभएको उल्लेख गरे । उनले नेपालको जलविद्युतमा जुनसुकै देशको लगानीमा बनेका आयोजना भएपनि नेपालको ट्रान्समिसन लाइनमार्फत भारतमा विद्युत् निर्यात हुने भएकाले लगानीको विषयमा भारत सरकारले चासो राख्न जरुरी नभएको विचार व्यक्त गरे । उनले नेपाल जस्तो अल्पविकसित देशलाई भारत जस्तो ठूलो देशले उदारता देखाउन आवश्यक रहेको बताए ।

उनले भने ‘नेपालको भित्र राष्ट्र भारतसँग बहुआयामिक सम्बन्ध छ । केही कुरामा हामी अप्ठ्यारोमा पनि परेका छौं । संसद मार्फत भित्र राष्ट्र भारत सरकारलाई विद्युत् व्यापारको सम्बन्धमा ध्यानाकर्षण गराउन चाहन्छु । उहाँहरुले ठूलो देशको ठूलो छाती देखाउनु पर्ने हो । त्यो देखाउनु भएको छैन । भँगेराको जस्तो छाती भयो । कुन आयोजनाबाट बनेको,चीनको लगानी भएको छ की छैन । अरु कसको लगानी भएको छ वा छैन । आफू दुई देश ट्रिलियन डलरमा व्यापार गर्छन् । चीन र भारतले अनि नेपालमा कुन देशको लगानी छ भन्ने खोट्याउनु पर्ने के आवश्यकता छ ? भारतलाई विद्युत् आपूर्तिको माग छ । नेपाल विद्युत् दिन तयार छौं । कसले लगानी गरेको हो भन्दा पनि नेपालको ट्रान्समिसन लाइनबाट जान्छ । त्यसमा भारतले किन ठाउँको दुखाउने ? यसमा उद्वारता पूर्वक भारत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । बंलादेशसँग ५ हजार मेगावाट विद्युत् बेच्दैछौं । त्यस अनुसारको ट्रान्समिसन लाइन भारतबाट जानु पर्ने हुन्छ । त्यसमा भारत सरकारले सहजिकरण गरिदिनुपर्यो । नेपाल जस्ता अल्पविकसित मुलुकलाई सहजिकरण गर्नुपर्छ । तब मात्रै एउटा छिमेकीको न्यानोपन नेपालले प्राप्त गर्नसक्छौं ।’

सचिव भट्टराईले नेपालले बंलादेशमा ५ हजार मेगावाट विद्युत् निर्यात गर्ने भारतको भूमि हुँदै ट्रान्समिसन लाइन जाने भएकाले भारत सरकारले सहजिकरण गर्न माग गरे । उनले अल्पविकसित मुलुक नेपाललाई विद्युत् व्यापारमा सहजिकरण गरे मात्रै छिमेकीको न्यानोपन नेपालले प्राप्त गर्न सक्ने उल्लेख गरे ।

Comments are closed.