काठमाडौं– इरानमा जारी विरोध प्रदर्शन र बढ्दो तनावबीच अमेरिकाले दक्षिण चीन सागरमा तैनाथ आफ्नो शक्तिशाली युद्धपोत ‘यूएसएस अब्राहम लिंकन’लाई पश्चिम एसियातर्फ पठाएको छ । न्युज नेसनकी ह्वाइट हाउस संवाददाता केली मेयरले स्रोतलाई उद्धृत गर्दै यस्तो दाबी गरेकी हुन् ।
उनले सामाजिक सञ्जालमा एक पोस्ट साझा गर्दै यो जानकारी दिएकी छन् । केलीले सामाजिक सञ्जालमा लेखेकी छन्, “इरानसँगको तनावबीच अमेरिकी सैन्य उपकरण पश्चिम एसियातर्फ बढिरहेका छन् । अमेरिकाले दक्षिण चीन सागरबाट आफ्नो युद्धपोतलाई पश्चिम एसियातर्फ रवाना गरेको छ । एक स्रोतले न्युज नेसनलाई यो जानकारी दिएको हो । युद्धपोत त्यहाँ पुग्न करिब एक हप्ता लाग्न सक्छ ।”
इरानले पनि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । इरानमा आर्थिक संकटका कारण विगत केही दिनदेखि विरोध प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा २६ सयभन्दा बढी मानिसको मृत्यु भएको दाबी गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी प्रदर्शनकारीको समर्थन गर्दै उनीहरूलाई मद्दत पठाउने बताइसकेका छन् ।
अर्कोतर्फ, इरानले अमेरिकालाई ‘जुन महिनाको जस्तै गल्ती’ नदोहोर्याउन चेतावनी दिएको छ । साथै, इरानले वार्ता र कूटनीतिमार्फत विवाद सुल्झाउनुपर्नेमा जोड दिएको छ । अमेरिका सधैँ कूटनीतिबाट पन्छने गरेको इरानले आरोप लगाएको छ ।
यूएसएस अब्राहम लिंकन ‘निमित्ज’ श्रेणीको पाँचौँ युद्धपोत हो । यो परमाणु ऊर्जाबाट चल्ने पोत हो । सामान्यतया यसलाई दक्षिण चीन सागरमा तैनाथ गरिन्छ ।
यसलाई सन् १९८९ मा अमेरिकी नौसेनामा सामेल गरिएको थियो । यो युद्धपोतको तौल करिब ९७ हजार टन छ । यसको फ्लाइट डेक करिब ४.५ एकडमा फैलिएको छ । यसको लम्बाइ करिब एक हजार ९२ फिट छ ।
यसमा चार ह्यांगर एलिभेटर छन् । यसले ९० लडाकु विमान बोक्न सक्छ । डेकमा अमेरिकाका सबैभन्दा आधुनिक लडाकु जेट एफ–३५सी तैनाथ छन् । यो युद्धपोतमा पाँच हजारभन्दा बढी नौसैनिक, मरिन र चालक दलका सदस्य रहन्छन् ।
यो युद्धपोत यति ठूलो छ कि यसको आफ्नै जीप कोड, टीभी र रेडियो स्टेसन, पत्रपत्रिका, दमकल केन्द्र, पुस्तकालय, अस्पताल, जनरल स्टोरजस्ता सुविधा पनि छन् । यो विश्वकै ठूला युद्धपोतमध्ये एक मानिन्छ ।







Discussion about this post