उपराष्ट्रपति यादव पहिलो वैदेशिक यात्रामा चीन प्रस्थान

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गरेका छन् ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादव पहिलो पटक वैदेशिक यात्रामा निस्किएका हुन् । उपराष्ट्रपति यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे तथा चीनका राजदूतले त्रिभुवन विमानस्थलमा बिदाई गरेका छन् । यादव पौन पाँच बजेको उडानमार्फत चीन जान लागेका हुन् । उनी कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा ‘२७ औँ चीन कुनमिङ्ग साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने आयात–निर्यात मेला’मा विशेष अतिथिको रूपमा भ्रमणमा गएका हुन् ।

यादवको टोलीमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटालगायत सहभागी छन् ।

Comments are closed.