आठ राज्यमा ट्रम्प विजयी, नोभेम्बरमा बाइडेनसँग प्रतिस्पर्धा निश्चित

वाशिङटन डीसी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको लागि दलहरूको उम्मेदवार चयन गर्न मंगलबार १६ राज्यमा प्राइमरी निर्वाचन भएको थियो । सुपर मंगलबारको प्राइमरी निर्वाचनमा रिपब्लिकन दलबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बलियो जित हात पारेका छन् । अहिलेसम्मको नतिजामा ट्रम्प आठ राज्यमा विजयी भएका छन् । ट्रम्पको लोकप्रियतालाई विचार गर्दा सुपर मंगलबारमा उनले १५ राज्यहरूमा क्लिन स्वीप गर्न सक्ने दाबी सञ्चार माध्यमहरूले गरिरहेका छन् । योसँगै निक्की हेली राष्ट्रपतिको दौडबाट बाहिरिने सम्भावना छ ।

अमेरीकी सञ्चार माध्यमका अनुसार ट्रम्पले अलाबामा, अर्कान्सास, मेन, नर्थ क्याोलिना, ओक्लाहोमा, टेनेसी, टेक्सास  भर्जिनियामा विजय हासिल गरेका छन् । जितपछि ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म टुथमा मतदाताहरूलाई धन्यवाद समेत दिएका थिए । प्राइमरी चुनावमा डोनाल्ड ट्रम्प ६५ अंकसहित अगाडि छन् । राष्ट्रपति जो बाइडेन ट्रम्पभन्दा दुई अंक पछि छन् । नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनले डोनाल्ड ट्रम्पको सामना गर्ने लगभग पक्का देखिएको छ । अमेरिकामा राष्ट्रपति पदमा उम्मेदवारी जित्न १ हजार २१५ प्रतिनिधिको समर्थन पाउनु पर्छ । मंगलबारको नतिजा अघि नै ट्रम्पले २४४ डेलिगेटहरूको समर्थन पाएका थिए ।

निक्की हेलीले गत शनिबार डिट्रिक्ट अफ कोलम्बियामा प्राइमरी चुनाव जितेकी थिइन् । अमेरिकाको इतिहासमा प्राइमरी चुनाव जित्ने उनी पहिलो रिपब्लिकन महिला हुन् । सुपर मंगलबारको अहिलेसम्मको नतिजामा निक्की हेली ट्रम्पभन्दा धेरै पछि परेकोले उनी राष्ट्रपतिको दौडबाट बाहिरिन सक्ने देखिन्छ ।

Comments are closed.