‘चुलबुल चुलबुल प्यारी भाञ्जी’ भिडियो गीत बजारमा

लगभग साढे दुई दशकदेखि जापानमा बस्दै आएका दीपेन्द्र अधिकारी प्रारम्भिक दिनहरुमा विभिन्न लेख रचनाहरु लेख्दै आएको भएता पनि पछिल्ला दिनहरुमा निकै उत्साहजनक तरिकाले गीति विधामा कलम चलाईरहेका छन्। केही समय अगाडि समग्र पोखराको वर्णन गर्दै ‘मनमोहक पोखरा’ बोलको गीति भिडियो सार्वजनिक गरेका दीपेन्द्रेले अहिले मामाभाञ्जीको आत्मियताको विषयमा लेखेको ‘चुलबुल चुलबुल मेरी भाञ्जी’ बोलको गीति भिडियो सार्वजनिक गरेका छन्। गीतकार दीपेन्द्र अधिकारीको शब्द सृजना रहेको गीतमा चर्चित सङ्गीतकार बसन्त सापकोटाको सङ्गीत, साहस शाक्यको सङ्गीत संयोजन र भ्वाइस अफ नेपालबाट चर्चामा आएका बलबहादुर राजबंशी र भ्वाइस अफ किड्सबाट चर्चामा आएकी बाल गायिका तेरेशा बिश्वकर्माको स्वर रहेको छ ।

यो संभवत मामाभाञ्जीको विषयमा लेखेर युगल रूपमा गाइएको पहिलो गीत हो। सर्जकका अनुसार यो गीत दीपेन्द्रले आफ्नै भाञ्जीको नृत्य र अभिनय मोहलाई देखेर उनकै लागि लेखेका हुन्। हाम्रो नेपाली समाजमा मामाभाञ्जीको सम्बन्ध अत्यन्तै निकट छ। ञकि आमा कि मामाझ भन्ने त चलन नै छ। गीतकार दीपेन्द्रले आफ्नी भाञ्जीलाई प्रतिनीधिमूलक पात्र बनाएर मामाभाञ्जीको आत्मियतालाई गीत मार्फत दर्शाएका छन्। स्कुल छुट्टी होस् अथवा चाडपर्व आओस् बच्चाहरु सबैभन्दा पहिला जान खोज्ने भनेकै मामाघर हो। यो परिपाटी शहरमा भन्दा गाउँमा अलि बढि छ। भाञ्जाभाञ्जीहरु आमा र बुबालाई राख्न नसकेका मागहरु मामासँग सजिलै राख्न सक्छन्। भिडियोमा शहरमा भाञ्जीको र शहरको नजिकैको काँठ गाउँमा मामाको घर देखाईएको छ। शहर र गाउँको मिश्रित दृष्य र चालचलन देखाईएको भिडियो हेर्दा कथानक चलचित्र हेरेजस्तो आभास हुन्छ। गाउँको चौतारो देखि शहरको बालउद्यान र अत्याधुनिक विधालयसम्म देखाईएको भिडियो आफैंमा मसालेदार छ।

उत्तम हुमागाईँको छायाङ्कन, निशान घिमिरेको सम्पादन र रोहन नेपालीको निर्देशन रहेको भिडियोमा महेश खड्का, आस्था पौडेल, नारायण अधिकारी, स्वराज अधिकारी, घनश्याम जोशी, विमला अधिकारी देबकोटा लगाएतका कलाकारहरुको अभिनय रहेको छ।
‘चुलबुल चुलबुल मेरी भाञ्जी’

प्रकाश सुवेदी

 

Comments are closed.