बौद्धिक जनशक्तिको पलायन भयावह,सकारात्मक भाष्य निर्माण गर्न जरूरी : प्रचण्ड

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बौद्धिक जनशक्तिको पलायन भयावह रुपमा देखा परेकाे बताउनुभएकाे छ ।

समाजवादी शैक्षिक मञ्चले साेमबार काठमाडाैंमा गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिष्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने कार्यभारलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयाे ।
बौद्धिक जनशक्तिको पलायनलाई रोक्न देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्य निर्माण गर्न जरूरी रहेको उहाँले बताउनुभयाे । ‘आजको हाम्रो प्रमुख बहस भयावह रूपमा देखा परेको बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिष्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्नु हो, त्यसका निम्ति आम नागरिकमा देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्य निर्माण गर्न आवश्यक छ, गुणस्तरीय, प्रतिष्पर्धी, नवप्रवर्तनमुखी शिक्षाको विकासमा गुणात्मक प्रगति हासिल गर्ने आधार र उपायको खोजी गर्नु हाम्रो महत्वपूर्ण कार्यभार हो’- प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।
उहाँले शैक्षिक क्षेत्रमा गुणात्मक सुधार ल्याउन विश्वविद्यालयहरूमा दण्ड-पुरस्कार र मेरिटोक्रेसीमा जाेड दिइएकाे दाबी समेत गर्नुभयाे ।प्रधानमन्त्री प्रचण्डले संघीय संसद्‍मा विचाराधीन विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने दाबी पनि गर्नुभयाे ।

Comments are closed.