विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो’, : प्रधानमन्त्री केपी ओली

काठमाडौं । बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको आन्दोलनमा बिपी कोइरालाको असाधारण योगदान रहेको बताउनुभएको छ ।

आइतबार बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको राजनीति र साहित्यको क्षेत्रमा आफ्ना पदचिह्न छाड्न बिपी सफल हुनुभएको बताउनुभयो । ‘नेपाली राजनीति, नेपाली परिवर्तनको आन्दोलन, नेपाली साहित्य आकाश, यी सबैमा आफ्ना पदचिह्नहरू छाड्न अत्यन्तै सफल व्यक्ति हुनुहुन्छ’, ओलीले भन्नुभयो ।

नेपाली साहित्य राजनीतिलाई धेरै उचाइमा पुर्‍याउने काम बिपीले गर्नुभएको ओलीले बताउनुभयो । बिपी कोइरालाको दुःख र संघर्ष अहिलेको पुस्ताले कल्पना गर्न नसक्ने खालको भएको उहाँले प्रष्ट पार्नुभयो । आजका मानिसहरूलाई हिजोको संघर्षको कथा सुन्दा कथा जस्तो लाग्ने ओलीले बताउनुभयो । ‘धेरै भोगाइबाट आज यो अवस्था आएको छ, सम्झाउनको लागि हाम्रा अग्रजहरूले जे बलिदान दिनुभएको छ, त्यो बुझाउनु पर्छ’, उहाँले भन्नुभयो ।

नयाँ पिँढीले हिजोका धेरै कुरा थाहा नपाएकोले उनीहरूलाई सम्झाउनु पर्ने ओलीले बताउनुभयो । ‘आज हाम्रो काँधमा नयाँ पिँढीलाई सम्झाउन अभिभारा छ’, उहाँले भन्नुभयो ।

राष्ट्रिय एकता वा अन्य विषयमा बिपी कोइरालाका अत्यन्त तर्कयुक्त विचार भएका ओलीले बताउनुभयो । १५ वर्षमा प्रधानमन्त्रीले जे खान्छ, जस्तो लगाउँछ हरेक नेपाली जनतालाई त्यही खुवाउने र त्यही लगाउने अवस्थामा पुर्‍याउने लक्ष बिपी कोइरालाको भएको उहाँले टिप्पणी गर्नुभयो । ‘विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो’, ओलीले भन्नुभयो ।

हिजोको पुस्ताले माटामुनि हुन तयार भएर पनि राजनीतिमा लागिरहनु चानचुने कुरा नभएको ओलीले बताउनुभयो । अन्य व्यक्तिलाई माटामुनि पारिरहँदा पनि त्यहाँ माथि टेकेर हिजोको पुस्ता राजनीतिमा लागेको उहाँले सुनाउनुभयो ।

बिपी कोइरालाले भिन्न विचार राख्न पाइने कुराको वकालत गर्नुभएको ओलीले बताउनुभयो । हिजोको पुस्ता सुन्दर भविष्यको परिकल्पना गरेर ज्यान परवाह नगरी राजनीतिमा होमिएको उहाँले प्रष्ट पार्नुभयो । परिवर्तन सम्भव छ भन्ने दृष्टिकोण राख्ने मानिसहरू मात्र यसरी लाग्न सक्ने ओलीको धारणा छ ।

बिपी कोइराला सत्य बोलेबापत त्यसको मूल्य चुकाउन तयार हुनुभएको ओलीले बताउनुभयो । सत्यको मार्ग अवलम्बन गर्नु सजिलो छैन भन्ने निष्कर्ष बिपीले निकाल्नु भएको र असाधारण मूल्य चुकाएर सत्यको मार्ग हिँड्नु भएको ओलीको भनाइ छ ।

बिपीलाई विभिन्न मुद्दामा फसाउन खोजिएको भए पनि प्रमाण पुर्‍याउन नसेकेको कारण छोडिएको उहाँले स्मरण गराउनुभयो । त्यति बेला कम्तीमा राज्यले झुटा मुद्दामा नफाउने नैतिकता देखाएको ओलीले बताउनुभयो ।

आफूहरूको पालामा आइपुग्दा भने सरकारले नै जाली मुद्दामा फसाउने गरेको उहाँले सुनाउनुभयो । आफ्नो पुस्ताको नेताहरूको विरुद्ध पञ्चायतले अनेक खालका झुटा मुद्दा लगाएर जेलमा राखेको ओलीले बताउनुभयो ।

बिपीका साहित्य आमरुपमा मनोवैज्ञानिक भएका र ती साहित्यमा मनोविज्ञानका विभिन्न पाटा भएका बताउनुभयो । उहाँको साहित्यमा मतभेद भए पनि हरेकका लागि प्रिय भएका ओलीको धारणा छ ।

ओलीले समग्र नेपालको लागि अग्रज नेताहरूको योगदान प्रशंसनीय भएको ओलीले बताउनुभयो । त्यसैले आफ्नो लागि यो मेरो नेता, यो अर्काको नेता भन्ने नभएको ओलीले स्पष्ट पार्नुभयो ।

समाज परिवर्तनको लागि कोइरालाको राजनीतिक विचार र दर्शनले ठुलो योगदान गरेको उहाँले बताउनुभयो । त्यो कुरालाई कुनै कुरासँग दाँज्न नसकिने उहाँको धारणा छ । बिपीको युग नयाँ चिन्तनको युग भएकोले पनि उहाँलाई चिन्तनको वातावरण बनेको ओलीले प्रष्ट पार्नुभयो ।

बिपी अन्धविश्वासी नभएर वैज्ञानिक मानिस भएको ओलीको धारणा छ । बिपीले तथ्य आधारित प्रमाणका आधारमा बोल्ने गरेको ओलीले बताउनुभयो । बिपी क्रान्तिकारी विचार भएका नेता भएको उहाँको भनाई छ ।

Comments are closed.