सरकारबाट नयाँ आन्दोलन सुरु गर्छौं: प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०८४ को चुनावमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्नुपर्ने बताउनुभएकाे छ ।

शनिबार कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले ०६४ कै स्थितिमा फर्किन नसकेपनि सो सरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नैपर्ने बताउनुभयाे । तर ०८४ को चुनावमा ०६४ मा जस्तै जनताको विश्वास लिने कुरा चुनाैतीपूर्ण रहेकाे उहाँले बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे – ‘हामी ०६४ मै फर्किन त सक्दैनाैं, अब आउने भनेको त ०६४ होइन, ०८४ हो, ०८४ मा हामी ०६४ जस्तै जनताको पक्षमा, जनताको भराेसा र विश्वास जित्न सक्छौँ की सक्दैनाैं ।’

सरकारबाट नयाँ आन्दोलनको सुरुआत गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले अझै नयाँ आन्दोलनको सुरुआत गर्ने घाेषणा पनि गर्नुभयाे । ‘हामीले सरकारबाट पनि नयाँ आन्दोलनको सुरुआत गरेका छौँ, अझै गर्छौं’- उहाँले भन्नुभयाे ।

प्रधानमन्त्री कहिलेसम्म रहने भन्नेकुरा मुख्य कुरा नभएको तर जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा आफ्ना लागि मुख्य कुरा रहेको दाबी पनि प्रचण्डले गर्नुभयाे । ‘कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन, मुख्यकुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो, हामीले कति राम्रो कुरा सुरू गर्छौं त्यो मुख्य कुरा हो’- उहाँले भन्नुभयाे ।

आफूले तेस्राे पटक सरकारको नेतृत्व सम्हालेपछि देश र जनताको पक्षमा राम्रा काम गरेको दाबी प्रधानमन्त्री प्रचण्डले गर्नुभयाे । सामाजिक न्याय सुशासन र समृद्धिको नारासाथ सरकार अघि बढि रहेको र केही महत्वपूर्ण पहलहरु गरिरहेको उहाँले बताउनुभयाे । सरकारबाट नयाँ किसिमले काम नगरे संविधान नै धरापमा पर्ने अवस्थामा रहेको प्रधानमन्त्री प्रचण्डले  बताउनुभयाे ।

आवश्यकता र वाध्यताका कारण पार्टी तेस्राे पटक सरकारको नेतृत्वमा आएको र अब काम गर्ने अठोटसाथ आफू अघि बढेको उहाँले दाबी गर्नुभयाे ।

पछिल्लो समय अर्थतन्त्रमा केही सुधार हुँदै गएको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले तिहारपछि अर्थतन्त्र सुधारका लागि भेला राख्ने घाेषणा गर्नुभयाे । उहाँले भन्नुभयाे – ‘अर्थतन्त्रमा केही सुधार भएको छ, राजश्व पनि वृद्धि हुन थालेको छ, पर्यटक त इतिहासमै सबैभन्दा बढी भित्रिएका छन्, रेमिट्यान्स धेरै नै बढेको छ, विदेशी मुद्राको सञ्चितिको स्थिति उल्लेख्य र उत्साहजनक छ, अर्थतन्त्रको समस्या समाधानका लागि तिहारपछि नै भेला गर्दैछु ।’

Comments are closed.