कमजोर पार्टीले लोकतन्त्रलाई बलियो बनाउन सक्दैनन्: शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा बलियो राष्ट्रिय शक्ति निर्माणको कुरामा नेपालमा ध्यान नै जान नसकेको बताउनुभएको छ ।
नेकपा एमाले जिल्ला कमिटी दाङद्वारा आयोजित बडादशैँ, दीपावली, छठ र नेपाल संवत् २०८० को अवसरमा जिल्ला पार्टी कार्यालय दाङमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पोखरेलले त्यसैले नेपालको विकास हुन नसकेको बताउनुभयो । ‘ बहुदलीय व्यवस्था स्थापना पछिका ३४ वर्षमा हामीले २८ भन्दा बढी प्रधानमन्त्री बेहोरी सक्यौँ, एउटा प्रधानमन्त्रीले सवा वर्ष पनि काम गर्न सक्दैन भने त्यो देश बन्छ कसरी ?’ उहाँले प्रश्न गर्नुभयो ।
पोखरेलले राष्ट्रलाई बलियो बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभयो । राष्ट्रलाई बलियो बनाउने हो भने अब धेरै राजनीतिक दल होइन बलिया राजनीतिक दल आवश्यक रहेका उहाँको भनाइ छ । ‘राष्ट्रलाई बलियो बनाउने हो भने राजनीतिक दलहरू बलियो हुनु जरुरी छ, जनता बलिया हुने हो भने राज्य बलियो हुनु जरुरी छ, राज्य बलियो हुनका लागि लोकतन्त्रमा पार्टीहरू बलिया हुन जरुरी छ, कमजोर पार्टीले लोकतन्त्रलाई बलियो बनाउन सक्दैनन्’, पोखरेलले भन्नुभयो ।
कमजोर राज्यले विकास र समृद्धिको आकांक्षा पूरा गर्न नसक्ने उहाँले बताउनुभयो । त्यसैले बलियो राष्ट्रिय शक्ति निर्माणको लागि बलिया राजनीतिक दल जरुरी भएको उहाँले प्रष्ट पार्नुभयो । बलियो राष्ट्रिय शक्ति निर्माणको कुरा पनि दशैँको उपासनाको विषय बन्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
राजनीतिक रूपमा अब दुई वटा बाटा भएको उहाँले बताउनुभयो । अब पुँजीवाद र समाजवादको बाटो मध्ये एउटा बाटो रोज्नु पर्ने उहाँले प्रष्ट पार्नुभयो ।
पोखरेलले असत्यलाई पराजित गर्नै पर्ने र सत्यले जित्नै पर्ने बताउनुभयो । दशैँलाई सत्यको जीतको पर्वको रूपमा लिइने भएकोले देशमा अहिले देखिएको असत्यलाई पराजित गर्न दशैँले शक्ति प्रदान देओस् भन्दै पोखरेलले शुभकामना दिनुभयो ।
नेपाको सबै पैसा सुनको तस्करीमा प्रयोग भएका कारण देश आर्थिक संकटमा परेको उहाँको भनाइ छ । सुन तस्करीतन्त्र प्रवर्धन गरिएकोले वैधानिक अर्थतन्त्र संकटमा परेको उहाँले प्रष्ट पार्नुभयो ।
पपुलिष्टहरुले जनताको समस्या समाधान गर्न नसक्ने बताउँदै उनीहरूले समस्यामा खेल्न मात्रै सक्ने पोखरेलले बताउनुभयो । पपुलिजमले देशको समस्या सम्बोधन गर्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।
अहिले जुन हिसाबले देश अघि बढेको छ यसले विकास र समृद्धिको काम हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो । ठुला पार्टी रमिते बन्ने र साना पार्टीले शासन सञ्चालन गर्ने कुराले देश अघि नबढ्ने उहाँले बताउनुभयो ।
Comments are closed.