डब्लुएचओले नुन र सोडियमको सेवन कम गर्न चेतावनी

काठमाडौँ :  नुन र यसमा हुने सोडियमको अधिक मात्राले हृदयघात लगायतका धेरै रोग हुने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ। डब्लुएचओले घरमा प्रयोग हुने नुनमा सोडियमको मात्रा घटाउने अभियान शुरु गरेको छ।

दैनिक २ ग्रामभन्दा बढी सोडियम खान नहुने विश्व स्वास्थ्य संगठनले स्पष्ट पारेको छ। संगठनले नुनमा सोडियमको मात्रा ३० प्रतिशतले घटाउन भनेको छ। हामीले सेवन गर्ने नुन सोडियम र क्लोरिनको मिश्रण हो।

यसैगरी ५ ग्रामभन्दा बढी नुन खान स्वास्थ्यका लाग हानिकारक हुने डब्लुएचओले स्पष्ट पार्दै आएको छ।

नेपालीले औसत दैनिक ८.९ ग्राम नुन खाने गरेको विश्व स्वास्थ्य संगठनले प्रतिवेदनमार्फत जानकारी गराएको छ। यसैगरी नेपालीले दैनिक ३.४९३ ग्राम सोडियम सेवन गर्ने गरेका छन्।

भारतीयले ९.८ ग्राम‚ चिनियाँले १७.७ ग्राम‚ अफगानीले ६.४ ग्राम‚ भूटानी‚ बंगलादेशी र पाकिस्तानीले ८.९ ग्राम‚ श्रीलंकालीले १०.७ ग्राम‚ मालदिभियनले १०.३ ग्राम नुन सेवन गर्छन्।

हंगेरीमा १४.३ ग्राम नुन सेवन गर्छन्। सबैभन्दा कम समोआमा ५.१ र तुर्कियेमा ५.३ र इस्टोनियाका नागरिकले औसत ५.७ ग्राम नुन उपभोग गर्छन्।

यसैगरी भारतीयले ३.८७३ ग्राम‚ चिनियाँले ६.९५४ ग्राम‚ अफगानीले २.५३८ ग्राम‚ भूटानीले ३.५१६ ग्राम‚ बंगलादेशीले ३.४९७ ग्राम र पाकिस्तानीले ३.५११ ग्राम‚ श्रीलंकालीले ४.२११ ग्राम‚ मालदिभियनले ४.०५४ ग्राम सोडियम सेवन गर्छन्।

हंगेरीमा ५.६४६ ग्राम सोडियम सेवन गर्छन्। सबैभन्दा कम समोआमा २.००६ र तुर्कियेमा २.०७१ र इस्टोनियाका नागरिकले औसत २.२५९ ग्राम सोडियम उपभोग गर्छन्।

नुनमा सोडियमको मात्रा बढी भएकाले मानिसमा हृदयघात, स्ट्रोक र मुटुसम्बन्धी अन्य रोगको जोखिम हुने स्वास्थ्य संगठनले जनाएको छ। स्वास्थ्य संगठनले मुटुसम्बन्धी रोगहरू हुन नदिन मानिसलाई आफ्नो जीवनमा जति सक्दो चाँडो केही कुरा लागू गर्न आग्रह गरेको छ।

यसमा खाद्य उत्पादनमा सोडियमको मात्रा घटाउन, सोडियमको सही मात्रा पहिचान गर्न उपभोक्तालाई लेबलिङ र सोडियमबारे जनचेतना बढाउने उपायहरू समावेश छन्।

दैनिक ५ ग्रामभन्दा बढी सोडियम खाँदै मानिस

विश्व स्वास्थ्य संगठनले विश्वभर दैनिक औसत १०.८ ग्राम नुन खपत भइरहेको जनाएको छ। यो डब्लुएचओद्वारा निर्धारण गरिएको दैनिक ५ ग्रामभन्दा बढी हो।

रिपोर्टका अनुसार विश्व स्वास्थ्य संगठनले सोडियम घटाउन केही उपाय सुझाएको छ। यसैअनुसार केही देशले सोडियमको सेवन कम गर्ने राष्ट्रिय नीति बनाई लागू गरेका छन्। केहीले सोडियमको मात्रा घटाउन सेवनमा कमीका साथै जनचेतना फैलाउन थालेका छन्।

सोडियमले शरीरमा पानीको मात्रा अधिक ग्रहण गर्न सहयोग पुर्‍याउँछ। जब हामी धेरै सोडियम खान्छौं यसले हाम्रो रक्तनलीमा थप तरल पदार्थ तान्न सक्छ। यसले हाम्रो रक्तनलीमा अतिरिक्त दबाब दिन्छ। समय बित्दै जाँदा यो दबाबले रक्तनलीहरू तानिन थाल्छन्।

तिनीहरूले आफ्नो ठाउँ बनाउन थाल्छन् र मोटा हुन थाल्छन्। त्यसपछि यसले दीर्घकालीन रूपमा रक्तचाप बढाउँछ। उच्च रक्तचाप हृदय रोग हुनुको प्रमुख कारक हो।

हृदय रोग मृत्यु र अशक्तताका मुख्य कारणहरू मध्ये एक हो। उच्च रक्तचापले स्ट्रोक र मृगौला रोगको जोखिम पनि बढाउने सम्भावना रहन्छ।

नुनले मानिसलाई बढी तीर्खा लाग्छ। यस्तो वेला सुगरयुक्त चिसो पेयपदार्थ वा क्यालोरीयुक्त पेय पदार्थहरू पिउँदा थप नुन सेवन हुन्छ। त्यो पनि समस्या हुन सक्छ।

त्यसैले विश्व स्वास्थ्य संगठनले नुन र सोडियमको सेवन कम गर्न चेतावनी दिएको हो।

Comments are closed.