फिल्म ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक

काठमाडौँ । आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलर हेर्दा फिल्म राजनीतिले देश र समाजमा पारेको प्रभावको विषयमा बनेको अनुमान लगाउन सकिन्छ । ट्रेलरमा फिल्मको केही महत्त्वपूर्ण दृश्यले पनि प्राथमिकता पाएको छ ।

कार्यक्रममा नेकपा एसका नेता एवम् पूर्व पर्यटन तथा संस्कृति मन्त्री प्रेम बहादुर आले पनि सहभागी थिए । आलेले पछिल्लो समय नेपालमा चलिरहेको राजनीतिक अस्थिरतालाई फिल्मले उठान गरेको सुन्दा खुसी लागेको बताए । उनले सार्वजनिक ट्रेलर हेर्दा ‘ऐंचो पैंचो’ उत्कृष्ट बनेको महसुस गरेको सुनाए ।

निर्देशक कृषा चौलागाइले फिल्मको टिजर र गीतले दर्शकको राम्रो साथ पाएकाले पनि ट्रेलरले अझै धेरै दर्शकलाई हलसम्म तान्ने विश्वास व्यक्त गरिन् ।

पूर्वी नेपालका रमणीय स्थानमा छायांकन भएको फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय छ ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह–निर्माताको रुपमा रहेका छन् ।

Comments are closed.