जिम्बाब्बेले वेस्ट इण्डिजलाई हरायो

काठमाण्डौं । घरेलु टोली जिम्बाब्बेले आईसीसी विश्वकप छनौटमा वेस्ट इण्डिजलाई ३५ रनले हराएको छ ।

जितको लागि २६९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको वेस्ट इण्डिज २३३ रनमा अल आउट भयो। वेस्ट इण्डिजका ओपनर कायल मेयर्सले ७२ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५६ रनको योगदान दिए ।

अर्का ओपनर ब्रेन्डन किंग २० रनमा आउट भए । निकोलस पुरन ३६ बलमा ३ चौका र २ छक्कासहित ३४, हाई होप ३०, जोनसन चाल्र्स १, ब्रेन्डन किंग २० र जेसन होल्डर १९ रनमा आउट भए ।

जिम्बावेका लागि बलर टेन्डाई चताराले सर्वाधिक ३ विकेट तथा सिकन्दर राजा, ब्लेसिङ मुर्जाबानी र रिचर्ड नगारावाले समान २-२ विकेट लिए ।

यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ्ग गरेको जिम्बाब्बेले ४९.५ ओभरमा २ सय ६८ रनमा अल आउट भएको थियो । जिम्बाब्बेका सिकन्दर राजजाले ५८ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६८ रन बनाए ।

रायन बर्लले ५७ बलमा ५ चौका र १ छक्कासहित ५० रनमा आउट भए । ओपनर क्रेग इर्विन ५८ बलमा ७ चौकासहित ४७ र सन विलियम्स २३ रनमा आउट भए ।

वेस्ट इण्डिजका किमो पलले ३ तथा अल्जारी जोशेफ र अकिल हुसैनले समान २-२ विकेट लिए । जिम्बाब्बे ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

समूह ए बाट जिम्बाब्बे, वेस्ट इण्डिज र नेदरल्याण्ड्स सुपर सिक्समा पुगेका छन् । जिम्बाब्बेले वेस्ट इण्डिज र नेदरल्याण्ड्स दुबैलाई हराएको हुँदा सुपर सिक्समा उसको ४ अंक गणना गरिनेछ।

जिम्बाब्बेले अन्तिम खेल सोमबार अमेरिकासँग खेल्नेछ । वेस्ट इण्डिजले सोमबार नै नेदरल्याण्ड्ससँग खेल्नेछ ।

Comments are closed.