इटहरीको सेन्टर प्लाजा आगलागी: १६ जनाको उद्धार

सुनसरी-– सुनसरीको इटहरीमा रहेको सेन्टर प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ ।

सेन्टर प्लाजा नामले परिचित सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका १६ जनाको सकुशल उद्धार गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले जानकारी दिए।
सकुशल उद्धार हुनेमा ११ जना पुरुष र ५ जना महिला रहेका उनले बताए। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले डोरीको साहयताले उनीहरूको उद्धार गरेको थियो।
आगलागीमा फसेका ३ जनाको उद्धारका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको गृह मन्त्रालयले जनाएको छ ।
आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् ।
भवनभित्र फसेका मानिसको सकुशल उद्धारसहित यथाशक्य छिटो आगो नियन्त्रण गर्न सघाउ पुर्‍याउने उद्देश्यले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीबाट वरिष्ठ उपरीक्षक मनिष थापाको कमान्डमा १०५ जना, नेपाली सेना, नेपाल प्रहरी र ६ वटा दमकलसहित स्थानीय बासिन्दाहरूको सहयोगमा आगलागी नियन्त्रणमा लिने कार्य भइरहेको छ ।

Comments are closed.