काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा पुरक प्रस्ताव पेस भएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा २२ जना नेताले साे सम्बन्धमा सामूहिक प्रस्ताव पेस गरेका हुन् ।
प्रस्ताव गर्दै केन्द्रीय सदस्य शंकर भण्डारीले महासमिति बैठकको एजेण्डामा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको बिषयलाई समावेश गर्नुपर्ने माग गर्नुभयाे । महासमिति बैठकबाट छलफल गरेर सनातन हिन्दूराष्ट्रको पक्षमा पार्टी दृढतापूर्वक उभिन पुरक प्रस्तावको रूपमा वैदिक सनातन हिन्दूधर्मको पक्षमा प्रस्ताव पेस गरिएको उहाँले जानकारी दिनुभयो । नेता भण्डारीले संविधानमा नै धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको विषयका लागि संशोधन गर्न सकिने दाबी गर्नुभयो । यस विषयमा यसअघि नै पार्टी नेतृत्वलाई पटक पटक सुझाव दिएपनि वेवास्ता गरिएको नेता भण्डारीकाे गुनासाे थियाे । कांग्रेसले यसलाई वेवास्ता गरे भविष्यमा ठूलो क्षति हुने दाबी समेत उहाँले गर्नुभयाे ।
अर्का पुरक प्रस्तावकर्ता केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सनातन हिन्दूधर्मको विषयमा महासमितिबाट पार्टीको प्रष्ट धारणा आउनुपर्ने बताउनुभयो । जनआन्दोलनका क्रममा धर्म निरपेक्षको कुरा नउठ्दा सदनबाट पारित भएपनि अब भने त्यसलाई संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले विश्वको एकमात्र हिन्दुराष्टको पहिचानका रुपमा नेपाललाई अघि बढाउनुपर्ने बताउनुभयाे ।
केन्द्रीय कार्य समितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको सांगठनिक र राजनीतिक प्रतिवेदनमाथि छलफल भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो । प्रस्तावमा सुशासन र भ्रष्टाचार अन्त्यकाे विषयलाई प्राथमिकतामा राखेपनि कार्ययोजनाका बारेमा प्रस्ताव प्रष्ट नरहेको उहाँले बताउनुभयो । कार्ययोजनासाथ सुशासन र भ्रष्टाचार अन्त्यको प्रस्ताव आउनुपर्ने उहाँले बताउनुभयाे ।
बैठकमा प्रस्ताव प्रतिवेदन केन्द्रीय समितिले पारित गरेपछि महासमिति बैठकमा पेस हुनेछ । महासमिति बैठक फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्दैछ ।
Comments are closed.