काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने तयारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अबको दुई महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने योजना बनाएको छ । प्राधिकरणले यहाँको रत्नपार्क र महाराजगञ्ज लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी गरेको छ ।महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी सङ्ग्रहालयसहित कीर्तिपुर आसपासका क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली वितरण गर्ने तयारी सुरु भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार कतिपय वितरण बक्सबाट घरका मिटरसम्म जाने बिजुलीको लाइन पनि भूमिगत गर्ने काम भइरहेका छन् ।

भूमिगत लाइनबाटै घर–घरमा बिजुली पुर्याउन प्राधिकरणले पूर्वाधार बनाउँदै गरेको र तार भूमिगत गर्ने काम सकिएका फिडरहरूमा क्रमशः यो काम गर्दै जाने योजना बनाइएको जनाइएको छ । प्राधिकरणले सडकबाट उपभोक्ताका घर र कार्यालयसम्म भूमिगतरूपमा तार लगी मिटरमा भूमिगत लाइनबाट बिजुली जोडे पनि केही महिना पोल भने नहटाउने योजना रहेको प्रवक्ता भट्टराईले बताए ।

आगामी हिउँद यामसम्म सकेसम्म काम सकिएका धेरै क्षेत्रका भूमिगत लाइन चार्ज गर्ने प्राधिकरणको योजना रहेको जनाइएको छ । हिउँदमा काठमाडौँमा विद्युत् लोड बढेर वितरण लाइनमा समस्या देखिने गरेको छ । यसका कारण हिउँदसम्म सकेसम्म धेरै फिडरमा भूमिगत लाइनबाट चार्ज गर्ने प्राधिकरणको तयारी छ ।

Comments are closed.