धनगढी । कैलालीमा पहिलोपटक समलिङ्गी विवाह दर्ता भएको छ । हिन्दु परम्पराअनुसार चार वर्ष अघि विवाह गरेका कैलारी गाउँपालिका-८ का प्रकाश चौधरी र दाङको तुलसीपुर उपमहानगरपालिका- १ बस्ने मनिला न्यौपानेले विवाह दर्ता गरेका हुन् ।उनीहरू दुवै जना तेस्रो लिङ्गी हुन् । शुक्रबार कैलारी गाउँलिका-८ को वडा कार्यालयले उनीहरूलाई विवाह दर्ताको प्रमाणपत्र उपलब्ध गराएको हो ।गत १२ असारमा सर्वाेच्च अदालतले समलिङ्गी विवाहलाई मान्यता दिएपछि कैलालीमा चौधरीको जोडीले पहिलोपटक विवाह दर्ता गराएका हुन् ।यसअघि लमजुङको दोर्दी गाउँपालिकाले नेपालमै पहिलोपटक समलिङ्गी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह दर्ता गराएको थियो ।
शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा निलहिरा समाजका अध्यक्ष पिंकी गुरुङले दिएको जानकारी अनुसार कैलाली जिल्लामा पनि तेस्रो लिंगी विवाह दर्ता भएको छ ।समलिङ्गी विवाह गरेका प्रकाश र मनिलाले आफूहरूको विवाहले कानुनी मान्यता पाएको भन्दै खुसी व्यक्त गरेका छन् । ‘लामो संघर्षपछि आज हामीलाई एउटा खुसी मिलेको छ । हामीले परम्परागत रुपमा विवाह गरेको चार वर्षपछि कानुनीरुपमै विवाह दर्ता प्रमाणपत्र पाएका छौँ,’ प्रकाशले भने ।
Comments are closed.