क्रान्ति सकिएको छैन, माओवादी क्रान्तिबाट भागेको होइन: पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी क्रान्तिबाट नभागेको बताउनुभएको छ ।

बिहीबार रामेछापको सुनापति गाउँपालिका–४ बेथान पानीघाटमा आयोजित २७ औँ बेथान वीरता दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी अहिले पनि क्रान्तिकै मैदानमा रहेको बताउनुभयो । उहाँले माओवादी सशस्त्र क्रान्तिबाट शान्तिपूर्ण क्रान्तिको बाटोमा अघि बढेको बताउनुभयो । ‘क्रान्तिको स्वरूप फेरिएको छ, क्रान्ति सकिएको छैन’, उहाँले भन्नुभयो ।

सो क्रममा २०५३ साल पुस १९ गते माओवादीले बेथान चौकीमा आक्रमण गर्दा मारिएका माओवादीका लडाकु तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनको सालिक अनावरण गर्दै दाहालले माओवादीको सशस्त्र आन्दोलन महान् विद्रोह भएको बताउनुभयो । त्यतिबेला साधनको अभावको बिचमा माओवादीले युद्ध सुरु गरेको भए पनि महान् विचार र सोचको कारण युद्ध सफल भएको उहाँले दाबी गर्नुभयो । सो आक्रमणमा माओवादीका तीन जना लडाकु र दुई जना प्रहरीको ज्यान गएको थियो ।

कार्यक्रममा बेथान घटनामा मारिएकाका परिवारलाई सम्मान गरिएको थियो । प्रचण्ड सो दिवस मनाउन र सुनापति गाउँपालिकाको भवन उद्घाटन गर्न बेथान आउनुभएको हो ।

Comments are closed.