काठमाडाैं । ग्लोबल आईएमई बैंकले लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश दिने भएकाे छ ।
बिहीबार काठमाडौंमा सम्पन्न बैंककाे १७औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९-०८० को कूल मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हाे । जसमा ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस रहने बैंकले जनाएकाे छ ।
०८० कात्तिक १९ गते बसेको बैंककाे सञ्चालक समितिको बैठकले कुल ९ प्रतिशत लाभांश दिने घोषणा गरेको थियाे । साे प्रस्ताव आज पारित गरिएकाे हाे ।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गरेकाे छ । आर्थिक वर्ष ०७९-८० को कुल मुनाफाबाट बैंकले आफ्ना सेयर धनीहरुलाई प्रस्ताव गरेको बोनस सेयर तथा नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७९-८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्नेछ ।
साधारणसभामा अध्यक्ष ढकालले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताउनुभयो ।
साधारणसभाले संस्थापक शेयरधनी समूहबाट ३ जना र सर्वसाधारण शेयरधनी समूहबाट ३ जना समेत जम्मा ६ जना सञ्चालकको निर्वाचन गरेको छ ।
आर्थिक वर्ष २०७९-८० मा बैंकको खुद व्याज आम्दानी तर्फ अघिल्लो वर्ष भन्दा ६ अर्ब ८१ करोड रुपैयाँले वृद्धि भएको छ । बैंकको खुद मुनाफामा अघिल्लो वर्षको तुलनामा ३४.९९ प्रतिशतले वृद्धि भई ६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ ।
Comments are closed.