चलचित्र ‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौं- आसुसेन फिल्मस्‌को चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन्। शनिबार औपचारिक सम्झौता गर्दै उनलाई यस चलचित्रमा भित्र्याइएको हो।
चलचित्रका प्रमुख भूमिकाहरूमध्ये एकमा दिव्यको अभिनय रहने निर्देशक सन्तोष सेनले बताए।
‘अभिनयमा पारंगत दिव्यजीलाई हामीले पहिलेदेखि नै नजरमा राखेका थियौं तर औपचारिक रूपमा भने चलचित्रको विषयमा कुराकानी गर्न पाएका थिएनौं। ‘बलिदान’को एक प्रमुख पात्रको लागि उनी एकदमै सुहाउँदो कलाकार हुनुहुन्छ,’ निर्देशक सेनले भने, ‘यस चलचित्रमा हामीले सबै उत्कृष्ट कलाकारहरूलाई अभिनय गराउँदै छौं।’
नाट्यकर्म र चलचित्र अभिनयलाई सँगसँगै हिँडाइरहेका दिव्यले प्रमुख भूमिका निभाएको चलचित्र ‘चिसो एस्ट्रे’बाट धेरै चलचित्रकर्मीको नजरमा परेका थिए। उनले ‘हिजो आजका कुरा’, ‘दि सेक्रेट्स अफ राधा’, ‘महाजात्रा’ लगायतका चलचित्रमा अभिनय गरेका छन् भने उनको प्रतीक्षित चलचित्र ‘रुदाने’ भने रिलिज भएको छैन।
उनले अभिनय गरेको पछिल्लो नाटक ‘एउटा सपनाको अवसान’, ‘ट्रान्जिट’ लगायत निकै चर्चित छन्। उनले ‘लुक ब्याक इन एङ्गर’, ‘अन्ना इन द ट्रपिक्स’, ‘मिड समर नाइट्स ड्रिम’ लगायतका करिब दुई दर्जन अङ्ग्रेजी नाटकहरूमा पनि अभिनय गरेका छन्।
अभिनेता दिव्यले ‘बलिदान’को टिमसँग जोडिन पाउँदा खुसी रहेको बताए।
‘बलिदान’को प्रमुख भूमिकाबाट समीर भट्टले डेब्यु गर्दैछन्। यस चलचित्रमा यसअघि अभिनेताद्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन्। सबै स्टार कलाकारहरूको अभिनय रहने यस चलचित्रलाई लिएर ठूलो अपेक्षा गरिएको छ।
यसै वर्ष रिलिज हुने ‘बलिदान’को हाल पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ। यसको छायांकन करिब ६० प्रतिशत स्टुडियोमा नै छायांकन हुँदैछ।
यस चलचित्रका निर्देशक सेनले चलचित्रको कथामा आउने देश काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौतीका बिच सेट डिजाइन भइरहेको बताए।
देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन्।
यो चलचित्रलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए।
आसुसेन फिल्मस् प्रालि तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।

Comments are closed.