जनयुद्धमा भन्दा बढी खटिइरहेकाे छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू जनयुद्धमा भन्दा बढी खटिइरहेकाे बताउनुभएकाे छ ।

राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू देश र पार्टी निर्माणका लागि जनयुद्धमा भन्दा बढी खटिइरहेकाे बताउनुभयाे ।
पार्टीका सक्रियताकाे कमी आइरहेकाे तर निराश हुने अवस्था नरहेकाे उहाँले बताउनुभयाे । नेतृत्वले के गरिरहेकाे छ भन्ने कुरा नेता-कार्यकर्तामा उठिरहेकाे तर आफू रातदिन खटिइरहेकाे दाबी प्रधानमन्त्री प्रचण्डले गर्नुभयाे । ‘तपाइँहरुलाई लागिरहेकाे हाेला मुख्य नेतृत्वले के गरिरहेकाे छ ? पहिलाकाे जस्तै छ कि अर्कै छ कि ? बिग्रिएकाे हाे कि सप्रिएकाे हाे कि ? भन्ने विभिन्न प्रश्न मुख्य नेतृत्वप्रति तपाइँकाे मनमा उठ्छन् हाेला, बेस्सरी आलाेचना हुँदा नमिठाे लाग्छ हाेला, जीवनकाे उत्तरार्द्धतिर लागिएकै छ, किनभने ७० बाट उँघाे लाग्नु भनेकाे उत्तराद्धै हाे, तर तपाइँहरुले देखिरहनुभएकाे छ रातदिन जनयुद्धमा भन्दा कम खटेकै छैन, अझ बढी खटेकाे छु, बरु जनयुद्धमा त मेराे जीवन सरल थियाे’ – उहाँले भन्नुभयाे ।

प्रधानमन्त्री प्रचण्डले पार्टीमा कुनै पनि खालका गुट नबनाउन आग्रह गर्नुभयाे । पार्टी बनाउनतिर लाग्दा मानिसकाे सम्मान बढ्ने भन्दै उहाँले पार्टी बनाउने कुरामा केन्द्रित हुन आग्रह गर्नुभयाे ।

आफूलाई मानिसहरुले कहिले यता कहिले उता भन्ने गरेका बताउँदै प्रधानमन्त्री प्रचण्डले पार्टी, आन्दाेलन र देशकाे आवश्यकता अनुसार प्रमुख राजनीतिक दल, सदनभित्र र बाहिरकालाई पनि संयाेजन गर्ने काम गरिएकाे दाबी गर्नुभयाे । नेपाली कांग्रेस र नेकपा एमालेभित्रकाे समस्या पनि आफूले समाधान गरिदिनुपर्नेजसरी आफूले काम गरिरहेकाे उहाँले दाबी गर्नुभयाे ।

नेपालमा नयाँ दलले पुरानालाई अपमान गरिरहेका भन्दै प्रधानमन्त्री प्रचण्डले पुरानै दलका कारण अहिलेकाे व्यवस्था आएकाे हाे भन्ने नबिर्सन नयाँ दललाई चेतावनी दिनुभयाे । आफूलाई जन्मदिने आमा-बुवालाई सम्मान गर्नुपर्ने भन्दै उहाँले पुराना दललाई अनावश्यक गाली गर्नु आमा बुवाकाे अपमान गर्नुजस्तै रहेकाे बताउनुभयाे ।

नकारात्मक भाष्य बनाएर नेपाली जनतालाई अन्याैलमा पार्ने प्रयास भइरहेकाे भन्दै प्रधानमन्त्री प्रचण्डले बुद्धिजीवीहरुले ती प्रयासहरुकाे प्रतिवाद गर्नुपर्ने बताउनुभयाे । देशकाे राष्ट्रिय स्वाधिनता र देशकाे राष्ट्रिय आत्मसम्मानलाई कमजाेर पार्ने प्रवृत्तिलाई प्रतिवाद गर्नैपर्ने भन्दै उहाँले यस विषयमा बुद्धिजीवीहरु बाेल्नैपर्ने बताउनुभयाे ।

जनयुद्ध र जनआन्दाेलनले देशलाई लाेकतान्त्रिक गणतन्त्रकाे नयाँ युगमा ल्याएकाे हाे भन्ने कुरा दिल फुकाएर भन्नलाई कुनै अप्ठेराे मान्न नपर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । विश्वका थुप्रै क्रान्तिका सकारात्मक र नकारात्मक अनुभवबाट शिक्षा लिएर नेपालमा शान्ति पक्रियाकाे माैलिक बाटाेतिर देशलाई लगेकाे हाे भन्ने कुरा भन्नलाई पनि अप्ठेराे मान्नुपर्ने कुनै कारण नभएकाे उहाँले बताउनुभयाे । परिवर्तनका पक्षमा खुलेर बोल्न र डटेर लेख्न पनि प्रधानमन्त्री प्रचण्डले बुद्धिजीवीलाई आग्रह गर्नुभयाे ।

नेपालमा केही हुँदैन र केही छैन भन्ने नकारात्मक भाष्य बनाउने प्रवृत्ति प्रतिक्रियावादी प्रवृत्ति भएकाे उहाँले बताउनुभयाे । नकारात्मक भाष्य बनाउनेहरुलाई देश र जनताकाे माया नभएकाे भन्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा केही हुँदैन र केही छैन भन्दै जनतामा निराशा बाँड्ने र जनतालाई भ्रमित पार्ने कसरत गलत भएकाे बताउनुभयाे ।

प्रतिक्रियावादी प्रवृत्तिलाई परास्त गरेर समाजवादी आन्दाेलनलाई जिवन्त पार्नुपर्ने उहाँले बताउनुभयाे । यस काममा पार्टीले नेतृत्वदायी भूमिका खेल्ने भन्दै प्रधानमन्त्री प्रचण्डले जनमत निर्माण गर्ने र गलत विचार र प्रवृत्तिकाे प्रतिराेध गर्न बुद्धिजीवीहरुले सक्रिय पहल गर्न जरुरी रहेकाे बताउनुभयाे । जनमतलाई समाजवादी दिशामा डाेर्‍याउनका लागि सबैखाले प्रतिगामी र प्रतिक्रियावादी प्रयासलाई परास्त गर्नैपर्ने उहाँले बताउनुभयाे । सही जनमत निर्माण गर्न सके मात्र क्रान्तिका उपलब्धिलाई रक्षा गर्न सकिने प्रधानमन्त्री प्रचण्डकाे भनाइ थियाे ।

 

Comments are closed.