प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जेनजी आन्दोलनकारी, शहीद परिवार र घाइतेका तीन वटा समूहसँग छलफल गरेकी छन् ।
सिंहदरबारमा भएको छलफलका क्रममा तीन वटै समूहले तत्काल सरकार र आन्दोलनकारीबिच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारीहरू सलबलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय जोडतोडले उठाए ।
प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र राष्ट्रपतिसँग सल्लाह गरी निष्कर्षमा पुग्ने बताइन् । जेनजी आन्दोलनका घाइते तथा शहीदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जान नसक्ने भएकाले माग पूरा हुनेमा ढुक्क रहन पनि उनले बताइन् ।






