डान्सबार चलाउने ‘गुन्डा नाइके’ लुम्बिनीका उद्योगमन्त्री

रोज राणा भनेर चिनिने सरोज थापा मानव बेचबिखन मुद्दामा समेत मुछिएका थिए
घनश्याम गौतम
बुटवल — सरकारलाई पूर्णता दिन नसकेर आलोचित लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी ‘गुन्डा नाइके’ लाई मन्त्री बनाएर थप विवादित बनेका छन् । कांग्रेसभित्र संस्थापनइतरको चित्त बुझाउन नसक्दा सरकारले पूर्णता पाउन सकेको थिएन । लामो रस्साकसीपछि आइतबार दुई मन्त्री नियुक्त भए, माओवादीबाट बाँकेकी कृष्णा केसी र कांग्रेसबाट प्यूठानका रोज राणा भनिने सरोज थापा ।
नवनियुक्त मन्त्रीमध्ये थापा विवादित र आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । उनको छनोटलाई लिएर प्रदेश सरकारको नेतृत्व गरिरहेको कांग्रेसभित्रै असन्तुष्टि छताछुल्ल भएको छ । सामाजिक सञ्जालमा समेत तीव्र आलोचना भइरहेको छ ।
आवरणमा चलचित्र निर्माता र निर्देशक भनेर चिनिए पनि ‘रोज’ गुन्डागर्दीमा सामेल थिए । काठमाडौंका डान्सबारमा युवतीलाई जबर्जस्ती नग्न नृत्य गराएको अभियोगमा समेत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनी ५ पटकसम्म पक्राउ पर्दै छुट्दै गरेको प्रहरी रेकर्ड छ । उनी कहिले गुन्डा नाइकेहरू दिनेश अधिकारी ‘चरी’को निकट पुग्थे त कहिले कुमार श्रेष्ठ ‘घैंटे’को । एकताका प्रहरीले अनुसन्धान बढाएपछि सुजन पौडेल (रमेश बाहुन) र चरीसँगै रोजसमेत भारत पुगेका थिए ।
प्रहरीको अनुसन्धानमा भारत बसाइकै क्रममा यी तीन जनाको सम्बन्ध थप घनिष्ठ भएको थियो । बाहुनलाई नेपाल प्रहरीले भारतीय सुरक्षा अधिकारीसँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याएको थियो । रात्रिकालीन व्यवसायका क्रममा रोज अर्का गुन्डा नाइके घैंटेसँग समेत जोडिएका थिए । चरी २०७१ र घैंटे २०७२ मा प्रहरी इन्काउन्टरमा मारिएका थिए ।
‘रोज’ माथि २०७३ साउन अन्तिममा काठमाडौंको पुरानो बानेश्वरमा खुकुरी प्रहारको घटना पनि भयो । यसमा संलग्न रहेको आरोपमा विवेचना प्रजापति र सूर्य लामा पक्राउ परे । उनलाई अंगभंग बनाएबापत ३० लाख पाउने लोभमा आक्रमण गरेको उनीहरूले बयान दिएका थिए । संगठित गुन्डा नाइकेका साझेदार रोजले धोका दिएको र पुरानो रिसइबीका कारण आक्रमण भएको त्यसबेला प्रहरीले विश्लेषण गरेको थियो ।
नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले थापा (रोज राणा) आपराधिक पृष्ठभूमिका व्यक्ति भएको बताउँदै आफू हनुमानढोका कार्यालयमा प्रमुख छँदा उनीविरुद्ध मानव बेचबिखनमा मुद्दा चलाइएको बताए । राजनीतिमा कसैले जीवन नै समर्पित गरिहने तर केही आपराधिक व्यक्ति मिसिने प्रवृत्तिले समस्या भइरहेको उनको भनाइ छ । ‘राजनीति र अपराध एकै ठाउँमा मिसिँदा को अपराधी को राजनीतिककर्मी छुट्याउनै गाह्रो हुने अवस्था आयो,’ उनले भने ।
कांग्रेसको संस्थापनइतर पक्षले पाल्पाका बीरबहादुर रानालाई मन्त्री बनाउन दबाब दिएको थियो । संस्थापन पक्षले थापालाई मन्त्री बनाउने अडान लिएर पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार लम्बिएको थियो । पार्टीको प्रदेश समितिमा छलफल र जानकारी समेत नगराई विवादित पृष्ठभूमिका व्यक्तिलाई मन्त्री नियुक्त गरेको भन्दै कांग्रेसका अधिकांश प्रदेशसभा सदस्य असन्तुष्ट छन् । मुख्यमन्त्री चौधरीले सरकारको नेतृत्व गरेको झन्डै आठ महिनापछि आइतबार तेस्रो पटक सरकार विस्तार गरेका हुन् ।
तेस्रो पटकको विस्तारमा बाँके १(१) बाट निर्वाचित माओवादी सांसद केसीलाई सहरी विकास र प्यूठान–१(२) बाट निर्वाचित सांसद थापालाई उद्योग तथा यातायात व्यवस्थामन्त्री बनाइएको छ । गत वैशाख १४ गते ३ सदस्यीय मन्त्रिमण्डल बनाएका मुख्यमन्त्री चौधरीले जेठ ८ मा दोस्रो पटक सरकार विस्तार गरेर ७ सदस्यीय बनाएका थिए । १० मन्त्रालय रहेको लुम्बिनीमा आइतबारको सरकार विस्तारसँगै ९ सदस्यीय मन्त्रिमण्डल बनेको छ । बाँकी रहेको वन वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय मुख्यमन्त्री चौधरी आफैंले राखेका छन् ।
आइतबार उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका थापा यसअघि रोज राणाका नाममा चिनिएका व्यक्ति हुन् । मन्त्री बन्नुअघिसम्म र बनेपछि पनि उनले रोज राणाकै नामबाट बधाई र शुभकामना पाइरहेका छन् । उनले शपथग्रहणमा सरोज थापा ‘रोज’ भनेर वाचन गरेका थिए । तर, शपथपत्रमा रोज लेखिएको थिएन, सरोज थापा मात्र उल्लेख थियो । सार्वजनिक रूपमा आफ्नै पहिचान लुकाउनुपर्ने बाध्यता भएका व्यक्तिलाई मन्त्री बनाउनुपर्ने कारण आफूहरूले जानकारी पाउन नसकेको कांग्रेस संस्थापनइतर पक्षका एक प्रदेशसभा सदस्यले बताए । ‘विवादित व्यक्तिलाई बनाउनु पर्ने मुख्यमन्त्रीज्यूका आफ्ना बाध्यता होलान्/हुन सक्छन्,’ ती सदस्यले भने, ‘तर, त्यही विषय पार्टीमा वा संसदीय समितिमा छलफल गराएको भए हुन्थ्यो ।’
थापा मन्त्री नियुक्त भएसँगै कांग्रेस संस्थापनइतर पक्ष असन्तुष्ट बनेको छ । थापा कांग्रेसमा आरजु राणा निकट मानिन्छन् । आरजुकै दबाबमा उनलाई मन्त्री बनाइएको कांग्रेसमा चर्चा छ । पार्टी सभापति शेरबहादुर देउवाले अबको मन्त्रिपरिषद् विस्तारमा ‘रोज’ लाई मन्त्री बनाउनू भनेर मुख्यमन्त्री चौधरीलाई ६ महिनाअघि नै निर्देशन दिएको एक नेताले बताए । मंसिर दोस्रो साता संस्थापन पक्षबाट मन्त्री माग्न पुगेको लुम्बिनीकै एक टोलीलाई सभापति देउवाले ‘यसपालिलाई एउटा मन्त्री रोजलाई बनाउन मैले वचन दिइसकेँ, तपाईंहरू ढिला आउनुभयो, अर्को पटक हेरौंला’ भनेर फर्काइदिएको ती नेताको भनाइ छ ।
लुम्बिनी प्रदेशसभामा कांग्रेसका २७ सांसद रहेकामा संस्थापनइतर पक्षका ९ मात्र छन् । मुख्यमन्त्री चौधरी देउवा निकट हुन् । उनको पक्षमा १८ जना प्रदेशसभा सदस्य छन् । तर, पार्टीको प्रदेश समितिमा भने संस्थापनइतर पक्ष बलियो छ । त्यसैले पार्टीसँग समन्वय नगरी मुख्यमन्त्री चौधरीले विवादित व्यक्तिलाई मन्त्री नियुक्त गरेको आरोप पार्टीको प्रदेश समितिले लगाएको छ ।
पार्टीभित्र मन्त्री नियुक्तिको विषयमा विवाद रहेको र छलफल पनि भइरहेको पश्चिम नवलपरासीका प्रदेशसभा सदस्य एवं प्रदेश समितिअन्तर्गतको समन्वय विभाग प्रमुख विश्वप्रेम पाठकले बताए । ‘नियुक्त हुनुभएका मन्त्रीको विवादित पृष्ठभूमि त जानकारी भएन । तर, पार्टीमा छलफल नगरी मन्त्री नियुक्त गरेपछि समस्या बढेको छ,’ उनले भने, ‘व्यक्ति जस्तो र जो भए पनि मन्त्रीमा लैजाने पर्ने भए कम्तीमा पार्टीमा छलफल गरेर मात्र नियुक्त गर्नुपर्थ्यो ।’ पार्टीभित्रको असन्तुष्टि सम्बोधन नहुँदासम्म सरकारका काम प्रभावकारी हुन नसक्ने उनले बताए ।

Comments are closed.