डेनमार्ककी रानीले त्यागिन् राजगद्दी, नयाँ उत्तराधिकारी घोषणा

काठमाडौं । डेनमार्ककी रानी मार्गरेथ द्वितीयले राजगद्दी त्याग्ने घोषणा गरेकी छन् । प्रत्यक्ष टेलिभिजन प्रसारणमार्फत उनले अचानक नयाँ उत्तराधिकारी पनि घोषणा गरिन् ।
५२ वर्षदेखि राज्य प्रमुख बनेकी डेनमार्ककी रानी मार्गरेथले टेलिभिजनमा सम्बोधन गर्दै जनवरी १४ मा राजगद्दी त्याग्ने घोषणा गरेकी हुन् । आफ्नो जिम्मेवारी अर्को पिंढीलाई हस्तान्तरण गर्ने समय आएको बताउँदै उनले जेठा छोरा युवराज फ्रेडरिक उत्तराधिकारी हुने पनि सार्वजनिक गरिन् ।
८३ वर्षीया रानीले सन् १९७२ मा राजगद्दी सम्हालेकी हुन् । उनको घोषणा ५९ लाख नागरिकले टेलिभिजनमा हेरेका थिए ।रानीको गत फेब्रुअरीमा शल्यक्रिया भएको थियो ।पुरातत्वमा रुचि राख्ने रानी मार्गरेथ कयौं उत्खनन्‌मा सहभागी थिइन् । ३१ वर्षको उमेरमा आफ्ना पिताको उत्तराधिकारी बनेकी उनकै लागि महिलाले पनि गद्दी आरोहण गर्ने गरी संविधान संशोधन गरिएको थियो । रानीका दुईजना छोरा छन् ।
डेनमार्कको औपचारिक शक्ति निर्वाचित संसद र सरकारमा छ । संवैधानिक राजतन्त्रले राजकीय भ्रमण र राष्ट्रिय दिवस मनाउन प्रतिनिधित्व गर्ने तथा दलगत राजनीतिभन्दा माथि रहने अपेक्षा गरिन्छ । डेनिस प्रधानमन्त्री मेट फ्रेडरिकसेनले रानीलाई देशको कर्तव्य पूरा गरेकोमा धन्यवाद दिएका छन् ।

Comments are closed.