देशमा आशा जगाउन नसके मैले पनि पदमा बसिरहन जरुरी छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफू पनि पदमा बसीरहन जरुरी नभएको बताएका छन् ।

मंगलवार सिंहदरबारस्थित आफ्नै कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री दाहालले कमजोर कार्य सम्पादन गर्ने मन्त्रीहरूले पनि पद ओगटेर बस्न नहुने बताए । उनले मन्त्रीहरूप्रति संकेत गर्दै हरेकले आआफ्नो भूमिकालाई न्याय हुनेगरी काम गर्नुपर्ने नैतिक दबाब रहेको बताए ।

प्रधानमन्त्री दाहालले भने ‘सङ्घीयतालाई वास्तविक रुपमानै कार्यान्वयन गर्न म प्रतिबद्ध र दृढ छु । र यसमा लागि जरुरी कानुन तुरुन्त ल्याउन म तयार छु । म आज जनतालाई साँची राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु–हामीलाई असफल हुने छुट छँदै छैन । कार्य सम्पादन कमजोर भएको अवस्थामा म कसैलाई पनि माफ दिने अवस्था र मनस्थितिमा छैन । हामी सबै आआफ्नो भूमिकाप्रति न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं । कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने अब कसैले पनि ठाउँ ओगटी रहनु हुँदैन । छाडी दिनुपर्दछ । यो मैले अरूलाई दिएको उपदेश मात्रै होइन । आफैसँग गरेको वाचा पनि हो । देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटीरहन जरुरी छैन । ’

प्रधानमन्त्री दाहालले सङ्घीयतालाई वास्तविक रुपमा कार्यान्वयन गराउने काममा आफू दृढ र प्रतिबद्ध रहेको समेत बताए ।

Comments are closed.