देश बर्बाद हुनबाट जोगाउन सशक्त आन्दोलनमा जानुपर्ने अवस्था छ : केपी ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद हुनबाट जाेगाउन केही समयभित्र सशक्त आन्दोलनमा उत्रनुपर्ने अवस्था सिर्जना भइरहेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयाेजित केन्द्रीय कमिटी सदस्यहरुकाे शपथ ग्रहण कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले देशको अवस्था अहिले जस्तो खराब कहिले नभएको बताउनुभयो ।

नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको उहाँले बताउनुभयाे । सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउने पक्षमा भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको अध्यक्ष ‌ओलीले बताउनुभयो । मुलुकमा धार्मिक विद्वेष फैलाउने र पहिचानका नाममा राजनीति भाड्ने काम भइरहेको उहाँले बताउनुभयाे ।

अध्यक्ष ओलीले विद्युत व्यापार, देशको भूभागको रक्षा लगायत विषयमा वर्तमान गठबन्धन सरकार छिमेकीका लागि कम्फर्टेवलमात्र नभई घुँडाटेकुवा, दलाल र आत्मसमर्पणवादी भएको बताउनुभयो । उहाँले पार्टीभित्र अराजकता र अनुशानहीनता जस्ता कुरा स्वीकार्य नहुने स्पष्ट गर्दै आगामी २०८१ पार्टीका लागि शुद्धीकरण र सुदृढीकरणको बर्ष हुने बताउनुभयो ।

अध्यक्ष ओलीले नयाँ केन्द्रीय कमिटी सदस्यहरूलाई बधाई तथा शुभकामना दिनुहुँदै हरेक दृष्टिकोणबाट योग्यताका साथ भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो । उहाँले वैचारिक र सूचनाका दृष्टिले निरन्तर अध्ययनबाट आफूलाई अद्यावधिक गर्न र वरव्यवहारमा अनुकरणीय बन्न आग्रह गर्नुभयो ।

शपथ ग्रहण कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, स्थायी कमिटी र केन्द्रीय कमिटीका नेताहरूको पनि उपस्थिति थियो ।

Comments are closed.