Trending Now

दौत्य सम्बन्ध भएका मुलुकसँग श्रम सम्झौता गर्छौं : मन्त्री भण्डारी

काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले दौत्य सम्बन्ध भएका देशसँग श्रम सम्झौता गरी नेपाली श्रमिक जान पाउनुपर्ने मान्यतामा सरकारले काम गरिरहेको बताएका छन्

आइतवार काठमाडौंमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औं स्थापना वार्षिकोत्सव कार्यक्रममा बोल्दै श्रममन्त्री भण्डारीले यस्तो बताएका हुन्।

उनले पछिल्लो समय धेरै देशमा नेपाली कामदार जान नपाउने व्यवस्था रहेको भन्दै अब सरकारले दौत्यसम्बन्ध भएका देशमा श्रम सम्झौता गरी श्रमिकहरू जान पाउनुपर्ने मान्यताअनुसार काम गर्न लागेको स्पष्ट पारे।

मन्त्री भण्डारीले सरकारले त्यहीअनुसार विभिन्न देशसँग प्रक्रिया अगाडि बढाएको बताए। उनले घरेलु कामदारका विषयमा धेरै कुरा उठेको भन्दै वैदेशिक रोजगारीमा जाने घरेलु कामदारलाई कसरी सुरक्षित बनाउने विषयमा सरकार गम्भीर रहेको बताए। उनले सरकारले व्यापार व्यवसाय गर्न नहुने भन्दै व्यवसायीहरूलाई व्यापार गर्न नियन्त्रण गर्न नहुने बताए।

उनले म्यानपावरहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूसँग लिने १० हजार सेवा सेवा शुल्कको औचित्य आफैँले नबुझेको बताए। उनले १० हजार सेवा शुल्क श्रमिकसँग लिने विषयमा सरकारले छानबिन गर्ने चेतावनी दिए। उनले वर्तमान सरकारले यस्ता विभिन्न समस्या राम्रोसँग बुझेको र समस्याको पहिचान गरिरहेको जानकारी दिए।

उनले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्या समाधान गर्ने बाटोमा सरकार लागेको बताए। उनले नेपालबाट अब सीपविहीन श्रम शक्ति नपठाउने अठोट सरकारले लिनुपर्ने अवस्था आएको बताए। उनले विदेशमा नेपालबाट पठाउने श्रमिकहरूलाई केही न केही सीप सिकाएर मात्रै पठाउन आवश्यक रहेको बताए।उनले भने, ‘जति पनि नेपालको दौत्यसम्बन्ध भएका मुलुकहरूसँग श्रम सम्झौता गर्दै श्रमिकलाई काम गर्ने जाने बाटो दिनुपर्छ भन्ने सरकारको मान्यता हो। त्यसका लागि आ

वश्यक प्रक्रिया गर्दै जानुपर्ने हुन्छ। सरकारले लिने १० हजारको औचित्य बुझ्दिनँ। यसमा समस्या छ। वर्तमान सरकारले यस्ता समस्या राम्रोसँग बुझी समस्या पहिचान गरेको छ। यसलाई समाधान गर्ने बाटोमा सरकार लागेको छ। सरकारले अहिले गृहकार्य गर्दै छ। विदेश पठाउने श्रमिकलाई केही न केही सीप सिकाएर मात्रै पठाउनुपर्छ। त्यसका लागि निजी क्षेत्रसँग मिलेर काम गर्छौं।’

उनले विभिन्न देशको प्रणालीअनुसार नेपाल महिला पुरुष दुवै श्रमिक विदेशमा सुरक्षित नभएको स्पष्ट पारे। उनले सरकारले कुनै पनि देशसँग हुने श्रम सम्झौताको विषयमा कानुन, प्रणाली र सामाजिक सुरक्षालाई मद्देनजर राख्नुपर्ने बताए।

उनले भने‚ ‘महिला असुरक्षित रहेका कुरा छन्। हरेक मुलुकका हरेक अवस्था रहेका छन्। केही देशमा महिला मात्रै नभएर पुरुष श्रमिक सुरक्षित छैनन्। त्यहाँको कानुन, प्रणाली र सामाजिक सुरक्षा अनुसार नगरे भने कोही सुरक्षित छैन। सरकारले कुनै पनि देशसँग हुने श्रम सम्झौताको विषयमा यी विषयलाई मद्देनजर राखेर गर्नुपर्ने छ। नेपाली श्रमिकहरू गएको देशमा पनि सामाजिक सुरक्षा पाउनुपर्ने विषयमा छलफल गरिराखेको छ।’
उनले दक्ष र सीप भएका नेपाली श्रमिक वैदेशिक रोजगारीमा पठाउने विषयमा सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने बताए।​​

Comments are closed.