नयाँ गठबन्धनले जनतामा आशा जगाउने काम गरेको छ;शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आर्थिक सामाजिक विकासका दृष्टिले मधेस जुन हिसाबले अघि बढ्नु पर्ने हो त्यस अनुसार अघि बढ्न नसकेको बताउनुभएको छ ।

बिहीबार वीरगञ्जमा आयोजित नेकपा एमालेको पर्साको प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले क्षेत्रीयतावादले मधेसी जनताको हित गर्न नसक्ने बताउनुभयो । मधेसवादको राजनीति गर्नेहरू पनि अब राष्ट्रिय राजनीतिमा जोडिने प्रयत्नमा रहेका उहाँले टिप्पणी गर्नुभयो । तर उनीहरूको कारण मधेसको समय बरबाद भएको पोखरेलले बताउनुभयो ।

अहिले पनि मधेसको राजनीतिलाई क्षेत्रीयता तर्फ नै होम्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । तर त्यसले समग्र मधेसको हित गर्न नसक्ने पोखरेलले प्रष्ट पार्नुभयो ।

एमालेलाई मधेस विरोधी हो भन्ने कुप्रचार गर्ने प्रयत्न गरिएको भए पनि त्यो सफल हुन नसकेको पोखरेलले बताउनुभयो । नेकपा एमालेको नेतृत्वमा सरकार बनेपछि मधेसले पहिलो पटक परिवर्तनको अनुभूति गर्न पाएको उहाँको भनाइ छ । मधेस परिवर्तनको श्रेय कसैलाई जान्छ भने त्यो नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई जाने उहाँको धारणा छ ।

नेपाली जनताको स्वाभिमान जगाउने नेताको रूपमा एमाले अध्यक्ष केपी शर्मा ओली भएको उहाँले बताउनुभयो । छिमेकीको आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने एक मात्र नेता केपी ओली भएको उहाँले दाबी गर्नुभयो ।

कांग्रेस र मधेस केन्द्रित दलका नेता पटक पटक मन्त्री बन्दा पनि मधेसको विकासमा काम नगरेका उहाँले बताउनुभयो । विकासको काम गर्न नेकपा एमाले नै आउनु परेको पोखरेलको भनाइ छ । आज मधेसको रूप रङ्ग फेरिनुको मुख्य कारण नेकपा एमाले भएको उहाँले दाबी गर्नुभयो । ‘मधेसका जनताको पीडामा सबैभन्दा संवेदनशील नेकपा एमाले छ भन्ने कुरा हामीले प्रमाणित गरेर देखाएका छौँ’, पोखरेलले भन्नुभयो ।

नेपालको पानीमा पहिलो अधिकार नेपालको छ भन्ने कुराको आधारमा नदीको पथान्तरको काम नेकपा एमालेले सुरु गरेको पोखरेलले बताउनुभयो । नेपालको सबैभन्दा ठुलो सिँचाइ परियोजनाको कामको रूपमा सुनकोसी–मरिण डाइभर्सनको काम भइरहेको उहाँले जानकारी दिनुभयो । यसबाट नेपालको तराई–मधेस कृषिको नमुना क्षेत्रको रूपमा विकास हुने उहाँले प्रष्ट पार्नुभयो ।

नेकपा एमालेलाई अदालत प्रयोग गरेर सत्ताबाट हटाएपछि नेपालको दुर्भाग्यको दिन सुरु भएको उहाँले बताउनुभयो । एमाले सरकारबाट हटेपछि विकास र समृद्धिका सबै काम रोकिएका पोखरेलले प्रष्ट पार्नुभयो । आज मुलुक चरम निराशामा डुबेको उहाँको धारणा छ ।

विगतको गठबन्धनको कारण देशमा चरम निराशा बढेको अवस्थामा एमालेले नयाँ गठबन्धन बनाएर जनतामा आशा जगाउने काम गरेको बताउनुभयो । अब विगतको निराशालाई तोड्नु पर्छ भनेर नेकपा एमाले लागेको उहाँले प्रष्ट पार्नुभयो । ‘सुशासन र विकास के हो भन्ने कुरा अब हामी जनताको बिचमा देखाउन चाहन्छौँ’, पोखरेलले भन्नुभयो ।

राष्ट्र निर्माणको लागि बलियो राजनीतिक दल, स्थिरता र स्थायित्व जरुरी रहने उहाँले बताउनुभयो । नेपालको सन्दर्भमा यो क्षमता नेकपा एमालेसँग मात्र रहेको पोखरेलले प्रष्ट पार्नुभयो । नेपाली समाजको मनोविज्ञान बुझेर देशको स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिलाई अगाडि बढाउन सक्ने एक मात्र पार्टी नेकपा एमाले भएको पोखरेलले दाबी गर्नुभयो । त्यसैले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

मधेस प्रदेशका सबै जिल्लामा नेकपा एमालेले अभियान सुरु गर्ने पनि पोखरेलले जानकारी दिनुभयो । मधेस प्रदेशका सबै जिल्लामा पार्टी अध्यक्षलाई ल्याउने योजना पार्टीले बनाएको उहाँले बताउनुभयो ।

 

 

Comments are closed.