निर्माणको अन्तिम चरणमा २२० केभी बाह्रबिसे सबस्टेसन

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणका अन्तिम चरणका कामहरु भइरहेका छन् ।सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरु जडान भइसकेका छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु राखिएका छन् । ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरु जडान अन्तिम चरणमा छ । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरु निर्माणस्थलमा आपूर्ति भइसकेका छन् ।
उपकरणहरुको जडान पनि भइरहेको छ । २२०/१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९५ प्रतिशत छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ ।नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिनेछ ।
मध्य भोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिंगल सर्किट प्रसारण लाइनको टावरहरु निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब २ किलोमिटर तार तानिएको छ ।आयोजनाले बाह्रबिसे नगरपालिका ३ र ४ स्थित पलाँतीका बासिन्दाको अवरोधका कारण २ किलोमिटर तार तान्न सकिरहेको छैन । हाल मध्य भोटेकोशी आयोजनाका संरचनाहरुको निर्माण सम्पन्न गरी परीक्षण भइरहेका छन् ।
आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकेर खेर जाने अवस्था आउन नदिन बाह्रबिसे सबस्टेसन जतिसक्दो छिटो सम्पन्न गर्नु पर्ने दबाबमा प्राधिकरण छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले सबस्टेसन निर्माणस्थलको अनुगमन गरी बाँकी कामहरु तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ ।
टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिका, प्रसारण लाइनमा भइरहेको अवरोध हटाउन स्थानीयसँग छलफल गरेको थियो । साथै, टोलीले मध्यभोटेकोशी जलविद्युत आयोजनाको पनि भ्रमण गरी हाल भइरहेका परीक्षणका कार्यहरुको जानकारी लिएको थियो ।
घिसिङले उपकरणहरु सम्पूर्ण आपूर्ति भइसकेको र केही जडान पनि अन्तिम चरणमा पुगेको अवस्थामा जनशक्ति अझै थप गरी दुई महिनाभित्रमा सबस्टेसन निर्माण सम्पन्न गर्न निर्देशन दिए । ‘सबस्टेसन निर्माणको पछिल्लो चरणको प्रगति सन्तोषजनक नै देखिएको छ, नयाँ खिम्ती-बाह्रबिसे र बाह्रबिसे लप्सीफेदी (काठमाडौं) प्रसारण लाइन निर्माण पनि अन्तिम चरणमा पुगेको छ, अन्य कुनै समस्या नआएमा निर्माण आगामी २/३ महिनाभित्र सम्पन्न हुने अवस्था बनेको छ, त्यसैले सबैले आ-आफ्नोतर्फबाट अन्तिम पहल र कोसिस गरौं,’ उनले भने ।
२२ मेगावाटको माथिल्लो चाकू ए जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिंगल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनुपर्ने उक्त लाइनको काम तत्काल सुरु गर्न प्राधिकरणको उच्चस्तरीय टोलीले आग्रह गरेको छ ।
कम्पनी करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नु पर्नेछ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटर नयाँ प्रसारण लाइन बनाउनुपर्नेछ । यसका लागि प्रसारण लाइनका सम्पूर्ण उपकरणहरु आपूर्ति भइसकेका छन् । ८ वटा टावरमध्ये ५ वटाको जग हालिसकिएको छ ।
तामाकोशी-काठमाडौं प्रसारण लाइन र सबस्टेसन निर्माण एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो । तामाकोशी-काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४२ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनमा पर्ने ११८ वटा टावरहरुमध्ये ८ वटाको मात्र निर्माण बाँकी छ । त्यसमध्ये ७ वटा टावर सिन्धुपाल्चोकमा वन क्षेत्रमा निर्माण गर्नुपर्नेछ ।
त्यस्तै बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छ । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण चारवटा टावर निर्माणको काम बाँकी छ ।

Comments are closed.