नेपालकाे हवाई क्षेत्रलाई इयुले कालो सूचीबाट नहटाएकाे विषयमा आफ्नो कुनै दोष नभएको दाबी

काठमाडाैं । नेपाल वायुसेवा निगम (नेपाल एयरलायन्सले) नेपालकाे हवाई क्षेत्रलाई युरोपियन युनियन (इयु) ले कालो सूचीबाट नहटाएकाे विषयमा आफ्नो कुनै दोष नभएको दाबी गरेकाे छ ।

इयुले नेपाललाई कालो सूचीमा राख्दै आएकोमा यस वर्ष पनि निरन्तरता दिनुमा आफ्नो कुनै गल्ती नभएको निगमले आइतबार निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

निगमको कमजोरीका कारण नहटाएको भन्ने सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको निगमले जनाएकाे छ । ‘नेपाललाई इयुले सेफ्टी लिष्टबाट नेपाल वायुसेवा निगमको कमजोरीका कारण नहटाएको भन्ने सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुमा आएका समाचारप्रति निगमको गम्भीर ध्यानाकर्षण भएको  छ’-  विज्ञप्तिमा उल्लेख छ ।

नागरिक उड्डयन प्राधिकरण (क्यान) को न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरु नेपालमा लागू गर्ने जिम्मेवारी पूरा गर्ने वर्तमान क्षमतामा विश्वस्त हुन नसकिएकाले सेफ्टी लिष्टबाट नहटाइएकाे भन्ने प्रष्ट हुँदाहुँदै पनि निगम विरुद्ध भ्रम सृजना गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।

यथार्थ बुझेर मात्र समाचार प्रकाशन गर्न समेत निगमले आग्रह गरेकाे छ । ‘इयुबाट २९ नोभेम्बर २०२३ मा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) महानिर्देशकलाई सम्बोधन गरी बेल्जियमका लागि नेपाली राजदूतलाई वोधार्थ दिई पठाइएको पत्रमा इयुले नेपाललाई सेफ्टी लिष्ट‍बाट नहटाउनुको कारण क्यानको न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरु नेपालमा लागू गर्ने जिम्मेवारी पूरा गर्ने वर्तमान क्षमतामा विश्वस्त हुन नसकिएकाले भनि स्पष्टसँग उल्लेख गर्दागर्दै पनि नेपाल वायुसेवा निगमको कमजोरीका कारण नेपाललाई इयुले सेफ्टी लिष्टबाट नहटाएको भनि भ्रमपूर्ण प्रचारवाजी भएको पाइएकाले उक्त समाचारहरुबाट आमजनमानसमा सिर्जना भएको भ्रम निवारण तथा यथार्थ जानकारी दिनका लागि सत्य तथ्य प्रमाणसहित यो प्रेस विज्ञप्ति जारी गरिएको छ’ – विज्ञप्तिमा लेखिएकाे छ ।

नेपाली वायुसेवा कम्पनीलाई इयुले सन् २०१३ देखि कालो सूचीमा राखेको छ । ईयूले मंसिर १४ गते नयाँ सूची सार्वजनिक गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भई सञ्चालनमा रहेका वायुसेवा कम्पनीलाई सुरक्षा चासो भन्दै १० वर्षदेखि लगाएको निषेध कायमै रहेकाे जनाएकाे थियाे ।

Comments are closed.