नेपाल जितको संघारमा, एसिया कप अन्योलमा

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपाली टोली उपाधिको संघारमा छ । उपाधि जिते नेपाली टोली यसै वर्ष हुने एसिया कपमा छनोट हुनेछ । त्यसैले यतिबेला नेपाली क्रिकेट समर्थक निकै उत्साही छन् । प्रिमियर कपको फाइनल खेल सोमबार वर्षाका कारण दोस्रो पटक स्थगित हुँदा पनि हजारौँ नेपाली समर्थक कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घण्टौँसम्म छाता ओढेर खेल सुरु हुने व्यग्र प्रतीक्षामा थिए । तर वर्षाका कारण आजको खेल स्थगित गरिएको छ । अब बाँकी खेल भोलि रिजर्भ डेमा ९ बजेबाट सुचारु गरिनेछ ।

एसिया कप खेल्न पाउने भएपछि खेलाडीहरू पनि त्यतिकै उत्साही छन् । नेपाली खेलाडीका लागि एसिया कप भनेको भारत, पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्ती राष्ट्रहरूसँग खेल्न पाउने गतिलो अवसर हो । तर, नेपाली टोली एसिया कपमा छनोट हुने संघारमा रहँदा उक्त प्रतियोगिताकै भविष्य भने अन्योलमा परेको छ । खासगरी राजनीतिक कारणले एकअर्काका चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानका कारण एसिया कप अन्योलमा परेको हो । अर्थात्, भारत र पाकिस्तानको राजनीतिक द्वन्द्वको प्रभाव खेलकुद (एसिया कप) मा पर्ने सम्भावना देखिएको हो ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना गर्ने तय गरेको छ । तर, भारतले भने दुई देशबीच लामो समयदेखि चुलिएको राजनीतिक द्वन्द्वका कारण आफ्नो टोली पाकिस्तान पठाउन अस्वीकार गरेको छ । यद्यपि, यो विषयलाई लिएर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आफ्नो सरकारसँग थप छलफल गरिरहेको छ ।

भारतले आफ्नो टोली नपठाउने सम्भावना बढेपछि सम्बद्ध सबै पक्ष यतिबेला उचित समाधानको खोजीमा जुटेका छन् । आयोजक राष्ट्र पाकिस्तान पनि प्रतियोगिताले निरन्तरता पाओस् भन्ने चाहना राखेको छ । त्यसका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एसीसीमा छुट्टै प्रस्ताव बुझाएको समाचारमा जनाइएको छ ।

पीसीबीले एसिया कपका अन्य खेल पाकिस्तानमा खेलाउने तर, भारतले खेल्नुपर्ने खेल भने अन्य कुनै देश (न्युट्रल भेन्यू)मा खेलाउने प्रस्ताव राखेको छ । पीसीबी व्यवस्थापन कमिटीका अध्यक्ष नजाम सेठीले गत महिना पनि एसीसीमा यो प्रस्ताव राखेका थिए । उनले आफ्नो प्रस्तावलाई ‘हाइब्रिड मोडल’ को नाम दिएका थिए ।

उनको प्रस्तावमा एसीसीका अध्यक्ष जय शाह पनि सकारात्मक देखिएका थिए । तर, भारत फर्किएपछि भने शाहले पीसीबीको उक्त प्रस्तावको विपक्षमा आफ्नो धारणा राखेका थिए । त्यसैले पनि पछिल्लो समय एसीसीको भविष्यको विषयलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको हो । दुई साताअघि मात्र शाहले आफू एसिया कपमा सहभागी हुने राष्ट्रहरूको धारणाको पर्खाइका रहेको बताएका थिए ।

‘एसिया कपको आयोजनास्थल तथा भारत र पाकिस्तानबीचको खेलको विषयलाई लिएर हामी अन्य सहभागी राष्ट्रहरूको धारणा बुझ्ने प्रयास गरिरहेका छौँ,’ उनले भनेका छन् । पीसीबी भने कुनै पनि हालतमा प्रतियोगिता अन्यत्र नसार्ने पक्षमा देखिन्छ । यी दुवै राष्ट्र आ—आफ्नो अडानमा कायमै रहे एसिया कपको भविष्य अन्योलमा पर्ने निश्चित देखिन्छ ।

पछिल्लो समय श्रीलङ्का र बंगलादेश क्रिकेट बोर्डले पीसीबीलाई प्रतियोगिता न्युट्रल भेन्यूमा सार्न अनौपचारिक प्रस्ताव राखेका थिए । तर, पीसीबी भने कुनै पनि हालतमा प्रतियोगिता अन्यत्र सार्न तयार देखिएको छैन । श्रीलङ्का र यूएईले पनि एसिया कप आयोजनाका लागि चासो देखाउँदै आएका छन् । तर, पाकिस्तान यसका लागि तयार देखिँदैन ।

पछिल्लो समय बीसीसीआई त एसिया कप नै रद्द गर्नुपर्ने पक्षमा देखिएको समाचारमा जनाइएको छ । बीसीसीआईले यसअघि नै एसिया कपको सट्टामा छुट्टै पाँच देश सहभागी हुने प्रतियोगिताको ढाँचा अगाडि सारिसकेको छ । समाचारका अनुसार, एसिया कपको विषयमा छिट्टै नै एसीसीले कुनै ठोस निर्णय लिने सम्भावना छ ।

Comments are closed.