काठमाडौं । काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका व्यवसायीले विरोध गरेका छन् ।यसअघि न्युरोड क्षेत्रमा सवारीसाधन पार्किङ गरिँदै आए पनि आजदेखि काठमाडौँ महानगरपालिकाले हटाउन थालेपछि व्यवसायीले सबै सटर बन्द गरेर विरोध जनाएका हुन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीले महानगरपालिकाले अवैज्ञानिक ढङ्गले पार्किङ हटाउने निर्णय गरेकाले न्युरोड क्षेत्रका व्यवसायी समस्यामा परेको बताए । ‘व्यापार व्यवसाय मन्दी भएको अवस्थामा पार्किङ निषेध गरेर झन् समस्या थप्ने काम हुँदै छ,’ उनले भने ।
महानगरपालिकाले भने आज बिहानदेखि न्युरोड आसपासमा पार्किङ गरिएका सवारीसाधन हटाएको छ । महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले न्युरोड क्षेत्रमा हुने भिडभाडलाई सहज बनाउनका लागि पार्किङ हटाउने निर्णय गरेको जानकारी दिएका छन् । पार्किङ निषेध गरिएको ठाउँमा महानगरपालिकाले आज बिहानदेखि विशेष सरसफाइसमेत गरेको छ ।
Comments are closed.