बक्यौता नतिर्ने उद्योगहरुको लाइन क्रमश: काटिन्छ : प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरूको लाइन क्रमश: काट्दै लगिने स्पष्ट पारेको छ ।प्राधिकरणमा आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने उद्योगहरूको बिजुली विच्छेद गर्दै जाने रणनीति रहेको बताएका हुन् ।
प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका कुल ६१ उपभोक्ताको २०८० मंसिर मसान्तसम्म कुल बक्यौता २२ अर्ब २४ करोड रुपैयाँ छ । तीमध्ये ९ वटा ठूला उद्योगको मात्रै करिब १२ अर्ब ५० करोड रुपैयाँबराबरको बक्यौता छ ।
प्राधिकरणले ती ९ वटा उद्योगको लाइन काटेको छ । कार्यकारी निर्देशक घिसिङले विगतमा लोडसेडिङको अवस्थामा डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत लिने औद्योगिक, व्यापारिक र गैरव्यापारिक वर्गका ग्राहकलाई प्रिमियमसहितको महसुल भुक्तानीका लागि पटक-पटक ताकेता गर्दा पनि बेवास्ता गरेपछि २०८० पुस ६ गतेबाट विद्युत लाइन काट्न सुरु गरेको जानकारी दिए ।
उनले डेडिकेटेड तथा ट्रंकलाइनको महसुलसम्बन्धी विवाद प्राधिकरण र मन्त्रिपरिषद्को विषय मात्रै नभई संसदीय समिति, अख्तियार र अदालतको विषय बनेको उल्लेख गर्दै कुनै पनि निकायले नतिर्नु नभनेको बताए । यो विवादसम्बन्धी ४५ वटा मुद्दा प्राधिकरणको पक्षमा फैसला भएको उनको भनाइ छ ।
आफूले कुनै तथ्यांक नलुकाएको पनि उनले दाबी गरेका छन् । उद्योगीहरुले भने विवाद नटुंगिँदै प्राधिकरणले लाइन काट्न थालेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । लोडसेडिङका बेला २३९ ग्राहकले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत उपभोग गरेका थिए । तीमध्ये १७८ उपभोक्ताले महसुल भुक्तानी गरिसकेको प्राधिकरणले जनाएको छ ।

Comments are closed.