भन्सारलाई एकीकृत व्यापार एवं उद्योग प्रवर्द्धन केन्द्रका रुपमा विकास गर्नुपर्छ : स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले भन्सारलाई एकीकृत व्यापार एवं उद्योग प्रवर्द्धन केन्द्रका रुपमा विकास गर्न आवश्यक रहेको बताए । मंगलवार प्रतिनिधिसभाको बैठकमा भन्सार विधेयकमाथिको छलफलमा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन् ।
‘भन्सारलाई राजश्व संकलन केन्द्रका रुपमा लिइरहेको छ, त्योबाट सिफ्ट आवश्यक छ,’ सांसद वाग्लेले भने, ‘एकीकृत व्यापार एवं उद्योग प्रवर्द्धन गर्ने अंग बनाउने गरी हाम्रो सोच परिवर्तन आवश्यक छ ।’उनले भन्सारलाई राजश्व संकलन केन्द्रका रुपमा मात्रै लिनु नहुने समेत बताए । नेपालमा भन्सार बद्नाम शब्दका रुपमा चिनिएको भन्दै त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
‘नेपालमा भन्सार एउटा बद्नाम शब्द बनेको छ,’ उनले भने, ‘यो मालदार अड्डाका रुपमा चिनिन्छ, पैसा कमाउने थलो, सेटिङ चुहावट, तस्करी, कर छली, अवैध व्यापारका लागि पर्याय नै बनेको छ । भन्सार एजेण्टहरको लाइसेन्स पनि उचित नियमन नहुने, बिक्री हुने, भाडामा इत्यादि । भारतीय विचौलियाहरु आएर विचौलियाहरुको बिगबिगी भन्ने जुन छ, त्यो सुधार आवश्यक छ ।’
Comments are closed.