‘भैरव अर्याल स्मृति सम्मान’ बाट हास्यव्यङ्ग्यकार लामिछाने सम्मानित

मकवानपुर,  भैरव अर्याल स्मृति सम्मानबाट हास्यव्यङ्ग्यकार मीनप्रसाद लामिछाने सम्मानित हुनु भएको छ ।

साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरद्वारा संयुक्त रुपमा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षतामा आयोजित कार्यक्रममा नेपालको पहिलो बाँदर विशेषज्ञ बुढ्यौली साहित्य अभियानकर्मी डा. मुकेशकुमार चालिसे प्रमुख अतिथि रहनु भयो ।

भैरव अर्यालका सुपुत्र दीपक अर्याल, सर्जक सञ्जाल मकवानपुर संयोजक निमेष निखिल, आरसी रिजाल, तुलसी घिमिरेको आथित्यतामा ‘मैले जिउँन जानिन’ व्यङ्ग्य कृतिका कृतिकार लामिछाने रु. २१ हजार १ सय ११ नगद र सम्मानपत्रसहित सम्मानित हुनु भएको हो । भैरव अर्यालका सुपुत्र दीपक अर्यालद्वारा स्थापित पुरस्कार साहित्य सङ्गम र सिस्नुपानी मकवानपुरले संयुक्त रुपमा हरेक वर्ष प्रदान गर्ने गरेको छ ।

यसअघि सञ्जय साह मित्र, हरिकला उप्रेती, राजकुमार लामिछाने, धुर्मस सुन्तली फाउण्डेशन, मनोज गजुरेल, चट्याङ मास्टर, नरनाथ लुइँटेललगायत सो सम्मानबाट सम्मानित हुनुभएको छ ।

कार्यक्रममा विशिष्ट अतिथि निमेष निखिलले भैरव अर्यालको जीवनीबारे जति बोले पनि पूरा गर्न नसकिने बताउनुभयो । साथै उहाँले अर्याल लेखनमार्फत् नेपाली हास्यव्यङ्ग्यमा चीरकालसम्म रहिरहने व्यक्तित्वका रूपमा रहेका र उहाँको बारेमा विस्तृतमा जान्नका लागि प्रोल्लास सिन्धुलीयकृत भग्नभैरव पढ्नका लागि अनुरोध गर्नुभयो ।

सिस्नुपानी नेपाल तथा एजिङ नेपालका संस्थापक कार्यक्रमका विशिष्ट अतिथि कृष्णमुरारी गौतमले हेटौँडा हास्यव्यङ्ग्य सिर्जनाको राजधानी भएको भन्दै सिस्नुपानी नेपाल मकवानपुर र साहित्य सङ्गम मकवानपुरसहित विविध साहित्यिक संस्थाहरूमार्फत् प्रदेश राजधानीलाई चिनाउन सफल रहेको बताउनुभयो ।

कार्यक्रममा पुरस्कार संस्थापक विशिष्टअतिथि दीपक अर्यालले सिस्नुपानी बिस्तारदेखि भैरव अर्यालको स्मृतिमा हेटौँडामा प्रतिमा स्थापना, पुरस्कार स्थापना र हास्यव्यङ्ग्य सिर्जनामा आरसी रिजालको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो भने सम्मानित श्रष्टा लामिछाने लेखकका लागि हौसला मिलेको भन्दै धन्यवाद मन्तव्य राख्नुभयो ।

 

Comments are closed.