काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन विज्ञ समूह बनाउने निर्णय गरेको छ । सो समूहमा सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरुलाई राख्ने रास्वपाले जनाएको छ ।पार्टी र मन्त्रीहरुबीच समन्वय गर्ने उद्देश्यले गठन गरिएको समन्वय समितिको आइतबार बिहान बसेको बैठकले मन्त्रीहरुको काम प्रभावकारी बनाउन विज्ञ समूह बनाउने निर्णय गरेको रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
वर्तमान सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।
मन्त्रीहरु र पार्टीबीच समन्वय गर्न डा. स्वणिर्म वाग्लेको नेतृत्वमा महामन्त्री ढकाल र शिशिर खनाल रहेको समन्वय समिति गठन गरिएको छ । समितिको सचिवको जिम्मेवारी शिशिर खनाललाई दिइएको छ । यो समितिको बैठक प्रत्येक आइतबार बस्ने गर्दछ ।
आज बसेको दोस्रो बैठकले सरुवा, बढुवा वा नियुक्तिमा अनियमितता गर्नेहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय समेत गरेको महामन्त्री ढकालले बताए ।राजनीतिक नियुक्तिमा मेरिटोक्रेसीलाई प्रधान मान्ने लगायतका निर्णय समेत गरेको ढकालले जानकारी दिए ।
Comments are closed.