मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गर्दै अनेरास्ववियुकाे मसाल जुलुस

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गर्दै मसाल जुलुस प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले बालकुमारी घटनाका मुख्य दोषी मन्त्री ज्वाला रहेको भन्दै आज काठमाडौंकाे त्रिचन्द्र कलेजबाट मसाल जुलुस प्रदर्शन गरेको हो ।

युवाको ज्यान लिने मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गर्दै आन्दाेलनमा उत्रिएकाे अनेरास्ववियुकाे मसाल जुलुसमा प्रहरी हस्तक्षेप गरेको थियो ।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको ज्यान गएको थियो । इपीएसको परीक्षा फारम भर्ने विषयमा प्रदर्शन हुँदा उनीहरूको ज्यान गएको थियो । प्रदर्शनमा मन्त्री ज्वाला चढेको गाडी प्रदर्शनकारीले जलाएका थिए ।

त्यसलगत्तै सरकारले उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले हालै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा मन्त्री प्रकाश ज्वालाले गरेको कमजोरीका कारण घटना भएको निष्कर्ष निकालिएको छ ।

जसका कारण अनेरास्ववियु मन्त्री ज्वालाकाे बर्खास्त र आवश्यक कारबाहीकाे माग गर्दै सडकमा उत्रिएकाे छ । अनेरास्ववियुले मन्त्री ज्वाला बर्खास्त नभएसम्म देशभर आन्दाेलन गर्न मातहतका कमिटीलाई सर्कुलर नै पठाएकाे छ ।

दुई दिन भित्र मन्त्रीलाई बर्खास्त नगरे अझ शसक्त ढंगले आन्दाेलनलाई निरन्तरता दिने काेणसभामा आफ्ना कुरा राख्दै अनेरास्ववियुका अध्यक्ष समिक बढालले जानकारी दिनुभयाे ।

Comments are closed.