माहिका खुला टेनिस प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौँ । माहिका राणा नवौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेकी छन् । महिकासँगै राष्ट्रिय च्याम्पियन अभिलाषा विष्ट, आइशा डोल्कर गुरुङ र सुनिरा थापा पनि सेमिफाइनलमा पुग्न सफल भए ।

काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा माहिकाले प्रकृति श्रेष्ठलाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गरिन् । अभिलाषाले गंगा शर्माबाट वाक ओभर पाइन् । आइशाले समृद्धि महर्जनलाई ६–२ र ६–२ तथा सुनिराले शुभाङ्गीलक्ष्मी शाहलाई ६–३ र ६–३ को सोझो सेटमा हराए ।

मिक्स डबल्समा प्रदीप खड्का र माहिका राणा, ऋतिक राणा र सुनिरा थापा, सक्षमविक्रम शाह र शुभाङ्गीलक्ष्मी शाह तथा निशान श्रेष्ठ र प्रकृति श्रेष्ठको जोडी सेमिफाइनलमा पुगे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्री, सम्दुप लामा, भीष्मजंग गुरुङ, जितेन्द्र परियार, सीमान्त गुरुङ, सुब्रत बस्नेत, दावा सोनम शेर्पा र कमल भण्डारी क्वाटरफाइनलमा पुगेका छन् । ५५ वर्षमाथि पुरुष सिंगल्समा जित प्रधान, ऋषिराम पण्डित, जीवन घिमिरे र हेमचन्द्र गुरुङले प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे । ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घले, सुदर्शन विष्ट र राजु क्षेत्री, रोहित सुनुवार र इब्राहिम मुस्लिम तथा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले सेमिफाइनल यात्रा तय गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, मानबहादुर कटुवाल, चन्द्र शाही र महेश श्रेष्ठले सेमिफाइनलमा स्थान सुरक्षित गरे । ५५ वर्षमाथि पुरुष डबल्समा नाम्लाङ तेन्जिङ र जाङबु शेर्पाको जोडी प्रिक्वाटरफाइनलमा पुगे । ६५ वर्षमाथि पुरुष सिंगल्समा विदुर विष्ट, दीपकमान श्रेष्ठ, कर्मा घले र कलम थापाले सेमिफाइनलमा स्थान बनाए ।

Comments are closed.