राष्ट्रिय सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि आजदेखि छलफल हुँदै

काठमाडाैं । आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि राष्ट्रिय सभामा आजदेखि छलफल सुरु हुँदैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बस्ने बैठक बैठकमा आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

फागुन १४ गते बसेकाे बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेस गर्नुभएकाे थियाे । त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले फागुन १७, २७, २९ र ३० गते छलफल हुने मिति तोक्नुभएकाे छ ।

सभामा छलफल क्रममा उठेका प्रश्नको अर्थमन्त्री महतले फागुन ३० गते बस्ने बैठकमा जवाफ दिने तय भएकाे छ ।

बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनुअघि विधायन व्यवस्था समितिकी सभापति जयन्ती देवी राईले ‘स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभासमक्ष पेस गर्नुहुनेछ ।

प्रतिनिधि सभामा भने भाेलिदेखि प्रिबजेट छलफल हुँदैछ ।

Comments are closed.