राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र आयरल्याण्डका माथिल्लो सभाका अध्यक्षबीच भेट

काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरबीच भेटवार्ता भएको छ ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र  र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष बट्टिमरबीच साेमबार सिंहदरबारमा भेटवार्ता भएकाे हाे । अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएकाे भेटवार्तामा उहाँहरुबीच दुई देशबीचकाे सम्बन्ध, आपसी हित, सहयाेग लगायत विविध विषयमा कुराकानी भएकाे अध्यक्ष तिमिल्सिनाकाे सचिवालयले जनाएकाे छ ।

भेटमा अध्यक्ष तिमिल्सिनाले युरोपिएन युनियनले नेपालमाथि लगाएको हवाई प्रतिबन्ध खुल्ला गरिदिन अध्यक्ष बट्टिमरलाई आग्रह गर्नुभयो । हवाई प्रतिबन्धका कारण नेपालको अर्थतन्त्र र पर्यटनमा नकारात्मक असर परेको भन्दै उहाँले आयरल्याण्ड इयुको सक्रिय सदस्य भएका कारण नेपाली बिमानमाथि युरोपेली आकाशमा लागेको प्रतिबन्ध हटाउन आवश्यक भूमिका खेलिदिन आग्रह गर्नुभयाे ।

जवाफमा आयरल्याण्डका माथिल्लो सदनका अध्यक्ष बुटिमेरले आफू नेपाल भ्रमणबाट फर्केपछि हवाई प्रतिबन्ध हटाउने बिषयमा संवाद् र छलफल अगाडि बढाउने बताउनुभएको थियो ।

आयरल्याण्डमा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति बढाउन आग्रह गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले त्यसबाट उत्पादित दक्ष जनशक्तिलाई नेपालको विकास र समृद्धिमा लगाउन सकिने बताउनुभयो । दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन संसद् र सांसद्हरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । भ्रमणबाट एक अर्काको संसदीय अभ्यास र अनुभव बुझ्ने अवसर उपलब्ध हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । यसबाट संसदीय लोकतन्त्रलाई सुदृढ बनाउँदै नागरिकको अधिकार सुनिश्चित गर्न सघाउ पुग्ने अध्यक्ष तिमिल्सिनाकाे भनाइ थियो ।

राष्ट्रिय सभालाई समावेशी बनाउन नेपालमा महिला, अपांगता भएका व्यक्ति तथा अल्पसंख्यकहरूको ठाउँ सुरक्षित गर्ने व्यवस्था रहेको भन्दै उहाँले  यस्ता लोकतान्त्रिक अभ्यासबाट  हरेक तह र तप्काका योग्य व्यक्तिलाई कानुन निर्माणको अग्रपंक्तिमा ल्याउने प्रयत्न गरेको जानकारी गराउनुभयो ।

सन् २०२६ सम्म अतिकम विकसित मुलुकबाट स्तरोन्नति भई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने नेपाल सरकारको उद्देश्य रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले त्यसलाई दिगो, अपरिवर्तनीय तथा सहज बनाउन ठूलो साधन-स्राेतको आवश्यकता पर्ने बताउनुभयाे । यसका लागि युरोपेली संघ लगायत अन्तर्राष्ट्रिय समुदायको सहयोगको खाँचो रहने पनि उहाँले बताउनुभयाे । अध्यक्ष तिमिल्सिनाले व्यापार, लगानी तथा पर्यटनका क्षेत्रमा  दुई देशले साझेदारी विस्तार गर्दै लैजानुपर्ने पनि बताउनुभयाे ।

भेटमा आयरल्याण्डको उपल्लो सदनका अध्यक्ष बट्टिमोरले नेपाल र आयरल्याण्ड दुवै देशले साझा मुद्दामा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँले आगामी दिनमा साझा सहकार्य बढाउने प्रतिबद्धता पनि जनाउनुभयो । नेपालमा हिमाल आरोहण र पदयात्राका लागि आयरल्याण्डका धेरै नागरिक इच्छुक रहँदै आएको भन्दै अध्यक्ष बट्टिमाेरले आगामी दिनमा पर्यटकलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्न आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार बिहान नेपाल आउनुभएको हो । उहाँ ५ दिन नेपालमा रहनुहुनेछ । अध्यक्ष बट्टिमाेरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग भेट गर्ने कार्यक्रम छ ।

नेपालमा रहँदा उहाँले नारायणहिटी दरबार संग्राहलय, बसन्तपुर दरबार, भक्तपुर दरबार, स्वयम्भु लगायतका ठाउँको भ्रमण गर्ने कार्यक्रम पनि छ ।

Comments are closed.