काठमाडौं। वाग्मती प्रदेश अन्तर्गत सबैभन्दा धेरै भिड हुने यातायात कार्यालयमा सवारी साधनको राजस्व अनलाइनबाट भुक्तानीको व्यवस्था सुरु गरिएको छ।यातायात कार्यालय एकान्तकुनाले मंगलबार प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालको उपस्थितिमा एक कार्यक्रम गरी अनलाइन राजस्व भुक्तानी प्रणाली सुरु गरेको हो।
वाग्मती प्रदेशभित्र दर्ता भएका सवारीसाधनको राजस्व सेवाग्राहीले अब अनलाइनबाट भुक्तानी गर्न सक्ने छन्। प्रमाणीकरणका लागि भने यातायात कार्यालयमा एक महिनाभित्र उपस्थित हुनुपर्नेछ। सेवाग्राहीले इसेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत राजस्व बुझाउन सक्ने कार्यालयले जनाएको छ।मन्त्री लम्सालले अनलाइनबाट राजस्व भुक्तानीको व्यवस्थाले कार्यालयमा अब ५० प्रतिशत भीड कम हुने बताए। यातायात कार्यालय एकान्तकुना सेवाग्राहीको सबैभन्दा धेरै भीड हुने अड्डामध्येमा पर्छ।
मन्त्री लम्सालले अनलाइनबाट राजस्व भुक्तानीको व्यवस्थासँगै यातायात कार्यालयमा अब बिचौलियाको अन्त्य हुने दाबी गरे।
‘अब वाग्मतीमा दर्ता भएको सवारी साधनको राजस्व बुझाउन कार्यालय धाउनुपर्दैन। राजस्व बुझाएपछि आफूलाई नजिक पर्ने कार्यालयमा १ महिनाभित्र उपस्थित भएर प्रमाणीकरण गर्न सकिन्छ,’ उनले भने, ‘अझ कार्यालयमै जान नपर्ने गरी सबै सेवा अनलाइनमार्फत दिने योजना छ।’
Comments are closed.